मोरङ : मोरङमा शिक्षकले कुटपिट गर्दा एकजना विद्यार्थी घाइते भएकी छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–९ स्थित श्री सिंहवाहिनी माध्यमिक विद्यालयका शिक्षक पवन राईले विद्यार्थीमाथि कुटपिट गरेका हुन् ।
उनले कक्षा १० मा अध्ययनरत १७ वर्षीया जस्ना राईलाई कुटपिट गरेका हुन् । कुटपिटबाट राई घाइते भएकी छन् ।
उनको पथरी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार विद्यार्थीमाथि कुटपिट गर्ने शिक्षक पवनलाई पक्राउ गरिएको छ ।
पवनले प्लाष्टिकको पाइपले कुटपिट गर्दा विद्यार्थी घाइते भएको डीएसपी दाहालले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कक्षा कोठामा विद्यार्थीबीच भएको विवाद मिलाउन शिक्षक पुगेका थिए ।
विद्यार्थीलाई सम्झाइबुझाइ गर्ने क्रममा शिक्षकसँग पनि विवाद गरेको भन्दै बिहीबार (आज) दिउँसो ४ बजेतिर छात्रामाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।
घाइते छात्राको पाखुरामाथिको पातामा चोट लागेको छ । पक्राउ परेका शिक्षकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post