विराटनगर : ज्येष्ठ नागरिक वडा कार्यसमिति योग ध्यान केन्द्र विराटनगर–११ को आयोजनामा पाँचदिने विशेष योग प्रशिक्षण सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा योग प्रशिक्षण सम्पन्न भएको हो ।
नियमित योगका माध्यमबाट शारीरिक र मानसिक रूपमा मानिस स्वस्थ रहने भएकाले योग प्रशिक्षण आयोजना गरिएको ज्येष्ठ नागरिक वडा कार्य समितिका अध्यक्ष अर्जुनकुमार भट्टराईले जानकारी दिए । योग प्रशिक्षणमा वडावासीसहित विभिन्न विद्यालयका प्राध्यापक, शिक्षकलगायतको सहभागिता रहेको थियो ।
वडाध्यक्ष तीर्थेन्द्र नेउपानले योगका माध्यमबाट मानिसलाई स्वस्थ जीवनयापन गर्न सहज हुने बताए । उनले पतञ्जली योग समितिले बिहान सुत्ने समयलाई योग गराएर महत्वपूर्ण कार्य गरेको बताए ।
योगलाई तीनै तहको सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा वडाध्यक्ष नेउपानेले जोड दिए ।
सो अवसरमा वडाध्यक्ष नेउपानेसहित पतञ्जली योग समिति कोशी प्रदेशकी सचिव शोभा कोइराला, पतञ्जली योग समिति कोशी प्रदेशका संगठन सचिव विष्णु आचार्य, प्रदेश सदस्य धर्मराज आचार्य, जिल्ला आर्युवेद कार्यालय प्रमुख वैजनाथ साह, आयोजक संस्थाका अध्यक्ष अर्जुनकुमार भट्टराईलगायतले महेन्द्र मोरङ क्याम्पस, जनपथ मावि, अरुणोदय मावि, सुम्निमा बोर्डिङ स्कुलका शिक्षकलाई योग शिक्षकका रूपमा प्रमाणपत्र प्रदान गरेका थिए ।
योगगुरू लोकराज खनालले योगका विभिन्न अभ्यास गराएर प्रशिक्षण दिएका थिए ।














Discussion about this post