विराटनगर : कोशी प्रदेश सरकारले सीमा नाकामा पर्यटकीय सवारी साधनलाई स्टिकर टाँस्न सुरू गरेको छ । शुक्रबार जोगबनी नाकाबाट स्टिकर टाँस्न सुरू गरिएको हो।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भारतीय सवारी साधनमा स्टिकर टाँसेर अभियानको सुरूआत गरेका हुन् ।
आगामी २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको प्रदेश सरकारले पर्यटकहरूलाई सहज र सहज र सरल होस् भनेर यो अभियान सुरु गरेको हो ।
भारतबाट आउने पर्यटकहरूलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको गुनासो आएपछि यो अभियानलाई कोशी प्रदेशभरी लागू गर्न लागेको हो ।
मुख्यमन्त्री कार्कीले सो अभियानको उद्घाटन गर्दै स्टिकर टासेपछि पर्यटकमा हुने अनावश्यक झन्झट र दुःख हट्ने बताए । यसले कोशी प्रदेशको पर्यटन वर्ष सफल हुने उनले बताए ।
नेपालीहरूको मूल मर्म अतिथि देव भव भएकाले अतिथिको सम्मान गर्नु हाम्रो दायित्व भएको बताउँदै कार्कीले अतिथिहरूलाई सम्मान गरेर पर्यटन वर्ष सफल पार्न आग्रह गरे ।
उनले पर्यटन वर्ष सफल भएमा आर्थिक समृद्धि र विकास सम्भव हुने बताए ।
यो स्टिकर टाँसेको सवारी साधनलाई नाकामा चेकजाँच गरेपछि अरू बीचमा प्रहरीले चेकजाँच गर्न नपाउने व्यवस्था गरिएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील खालको सूचना आएमा मात्र त्यस्ता गाडीमा चेकजाँच गरिने जानकारी दिए ।
कार्यक्रममा बोल्दै पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटनको माध्यमबाट विकास र समृद्धिलाई अघि बढाउन सबैलाई आग्रह गरे ।
कोशी प्रदेश सरकारले वैशाख १ गतेदेखि पशुपतिनगर, काँकडभिट्टा, भन्टाबारी र जोगबनी नाकामा स्टिकर टाँस्ने व्यवस्था गरेको छ । प्रहरी र कर्मचारी राखेर कार्यालयसमेत स्थापना गरी यो काम अगाडि बढाइएको छ ।














Discussion about this post