झापा : पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१/८२ मा निर्यात भएका मुख्य दश वस्तुमा ‘अलैँची’ शीर्ष स्थानमा छ ।
मेची भन्सार कार्यालयले गत आवमा रु सात अर्ब ६७ करोड ४० लाख ३७ हजार मूल्य बराबरको ४२ लाख ९४ हजार ५५० केलोग्राम अलैँची निर्यात भएको जनाएको छ ।
पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा अलैँचीको उत्पादन हुने गरेको छ । पहाडी जिल्लामा उत्पादित अलैँची प्रशोधित गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात गरिन्छ ।
अलैँचीपछि सर्वाधिक निर्यात भएका दश वस्तुमा फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर पत्ती, मोलासिस, अदुवा र सिमेन्टको क्लिङ्कर रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए ।
उनका अनुसार गत आवमा रु चार अर्ब ४२ करोड २७ लाख ७२ हजार मूल्य बराबरको तीन करोड ८२ लाख ७१ हजार ८९७ केजी फलामे पाता निर्यात भएको छ । सर्वाधिक निर्यात हुने तेस्रो वस्तुमा चिया रहेको छ ।
चिया, अलैँची र अदुवा पूर्वी नेपालको नगदे कृषि उत्पादन हुन् । झापा, इलाम र पाँचथरलगायत जिल्ला चियाखेतीका लागि प्रख्यात छन् ।
सोही अवधिमा यही नाका भएर रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजार बराबरको एक करोड ५४ लाख १६ हजार ७५७ केजी चिया निर्यात भएको छ ।
आव २०८०/८१ को तुलनामा गत आवमा चियाको निर्यात ३२ दशमलव ५ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । आव २०८०/८१ मा यहाँबाट रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको एक करोड ३४ लाख ६६ हजार ३६ केजी चिया निर्यात गरिएको थियो ।
चियापछि सर्वाधिक निर्यात हुने वस्तुमा प्लाइउड रहेको छ । गत आवमा रु तीन अर्ब ३२ करोड ८९ लाख ९९ हजार बराबरको प्लाइउड निर्यात भएको छ ।
छुर्पी यस नाकाबाट सर्वाधिक निर्यात हुने वस्तुमा पाँचौँ स्थानमा रहेको छ । दूधबाट बन्ने छुर्पी तेस्रो मुलुकमा कुकुर वा बिरालोको खानाको रूपमा निर्यात हुने गरेको छ । गत आवमा रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको आठ लाख १५ हजार ५०५ केजी छुर्पी निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।
यहाँबाट निर्यात हुने वस्तुको छैटौँ अम्लिसो, सातौँमा भेनियर पत्ती, आठौँमा मोलासिस, नवौँमा अदुवा र दशौँमा सिमेन्टको क्लिङ्कर रहेको छ ।
गत एक वर्षमा यस नाकाबाट रु ९५ करोड ६६ लाख ७५ हजारको अम्लिसो, रु ९४ करोड ५६ लाख ६० हजारको भेनियर पत्ति, रु ५१ करोड एक लाख ७३ हजारको मोलासिस, रु २९ करोड ६० लाख ९१ हजारको अदुवा र रु २८ करोड ४१ लाख आठ हजारको क्लिङ्कर निर्यात भएको जनाइएको छ ।














Discussion about this post