इटहरी : मोरङको विराटनगरमा रहेको विराट नर्सिङ होमको लापरबाहीका कारण इटहरीका नगेन्द्र अधिकारीको मृत्यु भएको छ ।
पेटमा समस्या भएपछि जचाउँन जाँदा अप्रेसन गर्नुपर्छ भनेपछि अप्रेसनको क्रममा अधिकारीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
परिवारका अनुसार आइतबार पेट दुखेपछि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, प्रतिष्ठानले कोरोना महामारी भन्दै भर्ना नै लिन नमानेपछि विराट नर्सिङ होम लगिएको थियो ।
विराट नर्सिङ होममा सोमबार (हिजो) आन्द्राको अप्रेसन गर्न डाक्टरले सुझाव दिएपछि अप्रेसन थिएटरमा लगिएको थियो ।
‘अप्रेसन गर्न जाने बेलामा सकुसलै रहनुभएको थियो,’ परिवारजनले टाकुरासँग भने, ‘सोमबार सकुसलै रहेको मानिस अप्रेसन सक्सेस भयो भनेर सूचना दिईएपनि होस खुलेको थिएन, आज देहत्याग गरेको हस्पिटलले जानकारी दियो ।’

अन्दाजी ५० बर्षीय अधिकारी शिक्षण पेशामा आबद्ध थिए । उनी सुनसरीको रामधुनीमा विद्यालय सञ्चालन गर्दै आएका थिए । एक्कासी पेट दुखेपछि आईतबार एम्बुलेन्समा हालेर वीपी प्रतिष्ठान लगिएपनि त्यहाँ भर्ना नलिएपछि विराट नर्सिङ होम लगिएको थियो ।
उक्त हस्पिटलमा आन्द्रामा दुलो परेको र तत्काल अप्रेसन गर्नुपर्ने बताएपछि अप्रेसन गर्न लगिएपनि अधिकारीको मृत्यु भएपछि परिवारजन आक्रोशित रहेका छन् ।
डाक्टरको लापरबाहीका कारण उनको मृत्यु भएको पीडित परिवारले बताएका छन् । अधिकारीको मंगलबार नै चतरा आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।












Discussion about this post