इटहरी : कोशी प्रदेश सरकारले तयार पारेको सञ्चार विधेयकविरूद्ध शुक्रबार पत्रकारहरूले सडकमा उत्रिएपछि प्रहरीसँग घम्साघम्सी भएको छ।
पत्रकार महासंघ कोशी प्रदेशको अगुवाइमा गरिएको विरोध प्रदर्शनमा सञ्चारकर्मीले “समाचार लेखेकै आधारमा जरिवाना गर्ने प्रावधान तत्काल हटाउनुपर्छ” भन्दै नाराबाजी गरेका थिए।
प्रदेश सरकारले ल्याएको विधेयकअनुसार समाचार प्रकाशित वा प्रसारण गरेबापत सञ्चार माध्यम तथा पत्रकारलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। सो प्रावधानलाई प्रेस स्वतन्त्रतामाथि प्रहार भन्दै पत्रकारहरुले तीव्र आपत्ति जनाएका हुन्।
महासंघ प्रदेश अध्यक्ष भरत खड्काले विधेयकलाई प्रेसविरोधी भन्दै सच्याउन प्रदेश सरकारसँग माग गरे। “सञ्चार स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास हामीलाई स्वीकार्य छैन,” उनले भने।
प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा पत्रकार र प्रहरीबीच घम्साघम्सी भएको थियो। पत्रकारले गरेको शान्तिपूर्ण धर्नामा हस्तक्षेप गर्न खोजेपछि प्रहरी र पत्रकारबीच घम्साघम्सी भएको हो ।
उक्त विधेयक न्याय, प्रशासन तथा विधायन समितिबाट पारित भई शुक्रबारै प्रदेशसभामा पेस गरिएको छ।














Discussion about this post