इलाम : इलामको माइजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु प्रत्यक्ष देखिएको छ।
वन्यजन्तु फोटोग्राफर देवेन खरेलले क्यामरामा कैद गरेको यो दृश्यले पूर्वी पहाडी वन क्षेत्रमा दुर्लभ वन्यजन्तुको सुरक्षित उपस्थितिलाई पुष्टि गरेको छ।
समुद्री सतहदेखि करिब २ हजार ५०० मिटर उचाइमा रहेको माइजोगमाई–२ र ६ को सीमावर्ती थुम्केरानी क्षेत्रमा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेल र वन्यजन्तु तथा प्रकृति फोटोग्राफर प्रज्ज्वल खवासले अध्ययनका क्रममा उक्त भालु भेटेका हुन्।
दुई दिनदेखि चरा तथा वन्यजन्तुको अभिलेखीकरणमा जुटेका उनीहरूले आइतबार बिहान भालुलाई प्रत्यक्ष अवलोकन गर्दै तस्बिरसमेत खिच्न सफल भएका थिए।
वन्यजन्तु संरक्षणकर्मी खरेलका अनुसार हिमाली कालो भालुको प्रत्यक्ष अभिलेख हुनु पूर्वी नेपालको जैविक विविधताका लागि महत्वपूर्ण उपलब्धि हो। यसले इलामका उच्च पहाडी वन दुर्लभ वन्यजन्तुको सुरक्षित बासस्थानका रूपमा अझै कायम रहेको संकेत दिएको छ।
हिमाली कालो भालु सामान्यतया १,५०० देखि ४,००० मिटर उचाइका वन क्षेत्रमा पाइन्छ। गर्मीयाममा माथिल्लो भेग र जाडोयाममा तल्लो क्षेत्रमा बसाइँ सर्ने यसको स्वभाव रहेको संरक्षणकर्मीहरू बताउँछन्।
यो प्रजाति इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, लाङटाङ, अन्नपूर्ण र धौलागिरिलगायतका वन क्षेत्रमा पाइने भए पनि प्रत्यक्ष अवलोकन र तस्बिर अभिलेखीकरण भने विरलै हुने गरेको छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले हिमाली कालो भालुलाई संरक्षण आवश्यक पर्ने प्रजातिका रूपमा सूचीकृत गरेको छ।
















Discussion about this post