भोजपुर : भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक विहीबार बीउ बैंक सञ्चालनमा ल्याएको छ ।
शून्यबाट सुरू गरेर नगरपालिकाले बीउ बैंक स्थापना गरेको हो ।
चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमुल प्रदर्शनी कार्यक्रमको अवसरमा बैंकको नगरप्रमुख सुरेन्द्रकुमार उदास र उपप्रमुख प्रमिला राईले शुभारम्भ गरेका हुन् ।
एक वर्ष अघि षडानन्द नगरपालिकाले आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाको अवधारणा सुरू भएको नगरप्रमुख सुन्दासले बताए ।
उनले पराम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थानीय श्रोत साधनप्रतिको सम्मानको प्रतिविम्ब रहेको बताए ।
नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरि राजपत्रमा प्रकाशित गरेको थियो ।
रैथाने जातको बीउ संरक्षण आवश्यक रहेको उनले बताए । रैथाने जात लोप हुँदै गएकाले बीउ संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको बताए । उनले कृषकलाई व्यावसायीकरण गर्न बीउ बैंकले सहयोग पुग्ने आशा व्यक्त गरे ।
नगरले सुन्तला, अलैंची लगायतका बालीको उत्पादन बढाउन प्रबद्र्धन गरिरहेको बताए । किसानबाट बीउ खरिद गरेर अवस्यक पर्नेलाई वितरण गरिने प्रमुख उदासको भनाइ छ ।
षडानन्दमा बीउ बैंक स्थापनाको परिकल्पनाकार कृषि विज्ञ सामुदायिक बीउ बैंकका सल्लाहकार पीताम्बर श्रेष्ठले षडानन्द बीउ बैंकमा अहिले २७ बालिका ११५ जात रैथाने लोपन्मुख बीउहरू रहेको जानकारी दिए ।
उनले बीउहरू नगरको रातो कितावमा विस्तृत विवरण सहित अभिलेखिकरण राखिने बताए । उनका अनुसार बीउ बैंकमा स्थानीय कृषकले माग गर्ने र कृषि शाखाले उपलब्ध गराउने छ ।
षडानन्द नगरपालिकाले पहिलोपटक नेपालमै कार्यविधि तयार गरि बीउ बैंक स्थापना गरेको बताए । षडानन्दपछि अहिले देशका विभिन्न स्थानीय तहहरूले बीउ बैंकको कार्यविधि तयारी सुरू गरेको श्रेष्ठले बताए ।
बीउ विना जीवन नचल्ने भएकाले संरक्षण आवश्यक रहेकोमा जोड दिए । उनले विश्वकाट ७५ प्रतिशत र नेपालबाट ४५ प्रतिशत रैथाने जात लोप भइसकेको जानकारी दिए । समुदायले पनि बीउ संरक्षणमा सहयोग गर्न उनले आग्रह गरे ।
षडानन्द बीउ बैंकमा रहेका रैथाने जातका बीउहरू राष्ट्रिय जीन बैंकमम पठाइने बताए । उनले नगरलाई कृषि ऐन निर्माण र नियमित रूपमा कृषि संवाद कार्यक्रम आयोजना गर्न आग्रह गरे ।
नगर उपप्रमुख प्रमिला राईले लोप हुन लागेको बालीको संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताइन् ।
कृषि र व्यवसायीलाई प्रवद्र्धनको काम गरिरहेको उनले बताइन् । बीउ बैंकसँगै कृषकको उत्पादनलाई केन्द्रीत गरेर कोसेली घर सञ्चालनको तयारीमा रहेको उनले जानकारी दिइन्
नगरका प्रमुख प्रशासकीय अधिकृत मणिराम तामाङले बीउ बैंकले रैथाने जातको संरक्षणमा ठुलो सहयोग पुग्ने बताए ।
रैथाने बीउ नै नगरको सम्पत्तिको स्रोत भएको बताए । नगरपालिकाले भन्दा पनि कृषि सहकारी मार्फत बीउ संकलन गर्दा प्रभावकारी हुने उनको भनाइ छ ।
षडानन्द नगरपालिका कृषि समितिका सभापति तथा वडा नं ९ का वडाध्यक्ष निमा शेर्पाले कन्दमुल, जडिबुटीमा धनी रहेको कार्यक्रममा नगरस्तरिय राजनीतिक दलका प्रमुख, वडाध्यक्ष, कृषि शाखा प्रमुख शिला पुन मगर, कृषक समूहका प्रतिनिधि लगायतले बीउ बैंकको सरक्षणमा जोड दिए ।
चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा बीउ बैंक स्थापनाको अवसरमा नगरपालिकाले एक दिने कन्दमुल प्रदर्शनी गरेको छ । कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका कृषक समूहले उत्पादन गरेका कन्दमुलहरूको प्रदर्शनी गरिएको थियो ।
प्रदर्शनीमा वडा नं १० को पुनर्जागरण बहुउद्देश्यीय कृषक समूह प्रथम, शुभ विहानी कृषक समूह दोश्रो, वडा नं ८ को सेमेङ फलफूल तथा कृषक समूह तेश्रो र सान्त्वना वडा नं ९ को पञ्चकन्या कृषक सहकारी संस्था, वडा १३ को बोयाली बहुउद्देश्यीय कृषि तथा नर्सरी कृषक समूह र वडा नं १४ को विहीबारे फलफूल खेती कृषक समूह रहेका छन् ।
सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिका कृषि शाखाको निर्णायक टोलीले उत्कृष्ट समूहकहरूको घोषणाा गरेको थियो । प्रदर्शनीमा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुनेहरूलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र एक¬–एक हजार प्रदान गरिएको छ ।
प्रदर्शनीका विजेताहरूलाई नगर उपप्रमुख प्रमिला राई, वडा नं ९ का वडाध्यक्ष तथा कृषि विकास समिति सभापति निङ्मा शेर्पा लगायतले नगद तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
यसैबीच, षडानन्द नगरपालिकाले चौथो राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा विभिन्न क्षेत्रका ७ जनालाई सम्मानित गरको छ ।
सम्मानित हुनेहरूमा सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ, षडानन्द नगरपालिकाका कृषि प्राविधिक अम्बिका राई, प्रदीप भण्डारी र दिपिका राई, पत्रकारहरू अन्नपूर्ण पोष्ट कोशी प्रदेश प्रमुख तथा मुलुकी खबरका सम्पादक किशोर बुढाथोकी, बीएफएम तथा अरूण खबरका सम्पादक नेत्र पी अधिकारी र पत्रकार मोहन तामाङ रहेका छन् ।












Discussion about this post