इटहरी : इटहरी र धरान क्षेत्रबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्। प्रहरीले दुवै स्थानमा छुट्टाछुट्टै अपरेसन सञ्चालन गरी लागूऔषध र नगद बरामद गरेको जनाएको छ।
इटहरी उपमहानगरपालिका–८ फूलबारी टोलमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले स्थानीय २१ वर्षीय सविन धिमालको कोठामा खानतलासी गर्दा लागूऔषध ब्राउनसुगर बरामद गरेको हो।
उनको साथबाट १.२३ ग्राम ब्राउनसुगर, नगद २५ हजार सात सय ४० तथा तीन थान मोबाइल फोन बरामद गरेको प्रहरीले जनाएको छ।
उक्त कोठामा रहेका इटहरी–१४ का २९ वर्षीय मुकेश चौधरीसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।
त्यसैगरी धरान उपमहानगरपालिका–१६ भगवती स्कुल नजिक अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले चेकजाँचका क्रममा दुई पैदल यात्रुलाई नियन्त्रणमा लिएको छ।
धरान–१ का ३३ वर्षीय सञ्जय कुमार सिंह र २७ वर्षीय त्रिमणी बज्राचार्यसँग रहेको झोला खानतलासी गर्दा ट्रामाडोल ५४० क्याप्सुल र डिकोलिक ४७० क्याप्सुल गरी कुल १,०१० क्याप्सुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।













Discussion about this post