विराटनगर : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको महानगरपालिकाहरूको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनअनुसार विराटनगर महानगरपालिका देशकै उत्कृष्ट बनेको छ ।
आयोगले तय गरेका १७ सूचकका आधारमा गरिएको मूल्याङ्कनमा विराटनगरले ७८.११ अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।
प्रतिवेदनअनुसार ललितपुर महानगरपालिका ७६.३३ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी चितवनको भरतपुर महानगरपालिकाले ६८.०४ अङ्क प्राप्त गर्दै तेस्रो स्थानमा परेको छ।
चौथो स्थानमा कास्कीको पोखरा महानगरपालिका ५८.०४ अङ्कसहित रहेको छ भने पर्साको वीरगञ्ज महानगरपालिकाले ५४ अङ्क प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भएको छ।
देशको संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर देखिएको छ । काठमाडौँले ४४.९७ अङ्क मात्रै प्राप्त गर्दै छैटौँ स्थानमा परेको आयोगले जनाएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय तहहरूको मूल्याङ्कन स्रोत परिचालन, बजेट कार्यान्वयन, योजना व्यवस्थापन, वित्तीय अनुशासन, सेवा प्रवाह र सुशासन लगायत १७ सूचकका आधारमा गरिएको हो ।
प्रतिवेदनले महानगरपालिकाहरूबीच कार्यक्षमता र व्यवस्थापनमा उल्लेखनीय अन्तर रहेको देखाएको छ।
प्रतिवेदन सार्वजनिक भएसँगै कमजोर कार्यसम्पादन देखिएका महानगरपालिकाहरूको प्रशासनिक क्षमता, बजेट खर्च र सेवा प्रवाहबारे पुनरावलोकन आवश्यक रहेको आयोगले औँल्याएको छ।













Discussion about this post