इटहरी : इटहरी उपमहानगरपालिका–१७ स्थित विवेक पेट्रोलपम्प नजिक पूर्व–पश्चिम राजमार्गमा रात्रिकालीन बस र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ३ः४५ बजेतिर कान्छी चोकबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६६४९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००१ त १४६७ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टरमा सवार सप्तरी कञ्चनरुप नगरपालिका–५ निवासी १८ वर्षीय उत्तम सरदार गम्भीर घाइते भएका थिए। टाउको र हातमा चोट लागेका उनको सान्भी सिटी अस्पताल, लबिपुरमा उपचारका क्रममा बिहान ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक ३० वर्षीय कैलाश यादव उपचारमा रहेका छन्। बस चालक झापाको बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय सन्दीप नेपालीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ।
दुर्घटनापछि ट्याक्टर सडकको बीच भागमा पल्टिएकाले केही समय एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको थियो। प्रहरीका अनुसार बसले ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post