इटहरी : किरात राई समाज स्पेनले उभौली पर्व मनाएका छन् ।
स्पेनको राजधानी म्याड्रिडमा मे १० मा किरात राई समाजले किरात सम्बत-५०८६ उभौली चाडको अवसरमा साकेला नाच नाचेर मनाएका हुन् । उभौली कार्यक्रममा साकेला नाच, नेपाली मौलिक गीत-संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।
समाजका अध्यक्ष युवराज चाम्लिङ राईसहित प्रवासमा रहेका किरात राई समुदायका व्यक्तित्वहरूले विधिवत रूपमा पूजा गरी उभौली साकेलाको उद्घाटन गरेका थिए ।
समाजका अध्यक्ष राईले किरात राई समुदायले प्रकृति, भूमि र पुर्खाको पूजा गरी धुमधामका साथ उभौली चाड विगत ३ वर्षदेखि स्पेनमा मनाउँदै आएको बताए ।
अध्यक्ष राईले उभौली चाडले प्रवासमा बसोबास गर्ने नेपाली समुदायबीच मौलिक भाषा, संस्कृति र पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
किरात समुदायको उभौली चाडले आगामी दिनमा प्रवासमा रहेका नेपालीहरूबीच सांस्कृतिक एकता, सद्भाव र पहिचानलाई अझ सुदृढ बनाउन पुलको रूपमा रहने समाजका अध्यक्ष राईले बताए ।
कार्यक्रममा एनआरएनए, विभिन्न समुदाय तथा सामाजिक संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।















Discussion about this post