झापा : झापाको बिर्तामोडमा सामान्य घरायसी विवादले एकै परिवारमा दुःखद घटना निम्त्याएको छ।
श्रीमतीमाथि फलामको रड प्रहार गरी घाइते बनाएका एक वृद्धको घरको तेस्रो तलाबाट हाम्फालेपछि उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकका ७२ वर्षीय घिरेन राजवंशीले शुक्रबार बिहान करिब ५ः३० बजेतिर घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीमाथि फलामको रडले प्रहार गरेका थिए।
प्रहारबाट गंगामुनीको पेटमा चोट लागेको थियो।
घटनापछि परिवारका सदस्यले गंगामुनीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याएका थिए। प्रहरीले उनको अवस्था मध्यम रहेको र उपचारका क्रममा बोल्न सक्ने अवस्थामा रहेको जनाएको छ।
श्रीमतीलाई घाइते बनाएलगत्तै घिरेन घरको तेस्रो तलामा पुगेका थिए।
केहीबेरपछि उनले माथिबाट हाम्फाल्दा टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। उनलाई पनि तत्काल अस्पताल लगिए पनि उपचारकै क्रममा शुक्रबार साँझ करिब ६ः४५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको वास्तविक कारण, विवादको पृष्ठभूमि तथा अन्य पक्षबारे अनुसन्धान जारी छ।












Discussion about this post