विराटनगर : जिल्ला कारागार मोरङमा १६ वर्षको कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको सजाय अवधि सकिन अझै करिब आठ वर्ष बाँकी रहँदै उपचारकै क्रममा मृत्यु भएको छ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ७० वर्षीय रामप्रसाद दाहालको आइतबार विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
कारागार प्रशासक राजन घिमिरेका अनुसार शनिबार बिहान अचानक चक्कर लाग्ने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि दाहाललाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको मृत्यु भएको हो।
दाहाल बिरामी परेलगत्तै कारागार प्रशासनले परिवार र आफन्तलाई जानकारी गराएको थियो। परिवारका सदस्य र आफन्तको उपस्थितिमै उपचार भइरहेका बेला उनको निधन भएको कारागार प्रशासनले जनाएको छ।
दाहाल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी थिए। २०७५ साल पुस ६ गते पुर्पक्षका लागि कारागार चलान गरिएका उनलाई पछि जिल्ला अदालत मोरङले १६ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसलाअनुसार उनले २०९१ साल पुस ६ गतेसम्म कैद सजाय भुक्तान गर्नुपर्ने थियो।
तर हालसम्म करिब साढे सात वर्ष मात्र कैद सजाय भुक्तान गरेका दाहालको सजाय अवधि पूरा हुनुअघि नै मृत्यु भएको हो।
हाल जिल्ला कारागार मोरङमा एक हजार दुई सय आठ जना कैदीबन्दी रहेका छन्। तीमध्ये एक सय १० महिला, एक हजार ९७ पुरुष र एक आश्रित बालिका रहेको कारागार प्रशासनले जनाएको छ।













Discussion about this post