विराटनगर : मोरङ प्रहरीले विराटनगरबाट करिब २९० ग्राम खैरोहेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बरामद लागूऔषध किन्न काठमाडौंबाट सुनसरी पुगेका अर्का युवकलाई पनि नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार विराटनगर महानगरपालिका–१५ बाट भारतको पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर निवासी ३२ वर्षीय चञ्चल सिकदारलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार सिकदारको साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरोहेरोइन बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध रिसिभ गर्न काठमाडौंबाट सुनसरी पुगेको खुलेपछि प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारीबाट जुम्लाको चन्दननाथ नगरपालिका–८ निवासी २५ वर्षीय तेज रावललाई पनि पक्राउ गरेको जनाएको छ।
रावलको साथबाट बागमती प्रदेश ०२–०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
दुवै पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधको स्रोत, गन्तव्य तथा यसमा संलग्न अन्य व्यक्तिको खोजीसमेत अघि बढाएको छ।















Discussion about this post