इटहरी : इटहरीबाट ब्राउनसुगर, लागूऔषधजन्य औषधि र दुई लाखभन्दा बढी नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रहरी इन्टेलिजेन्स टोली विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त टोलीले इटहरी उपमहानगरपालिका–१ स्थित एक डेरा कोठामा खानतलासी गरेको थियो।
प्रहरीका अनुसार ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ घर भई हाल इटहरी–१ मा डेरा गरी बस्ने ३२ वर्षीय मनोज काफ्लेको कोठाबाट १ दशमलव ३१ ग्राम ब्राउनसुगर, ट्रामाडोलका १० क्याप्सुल, डाइसाइक्लोमिनका ४ ट्याब्लेट, डिक्लोमाइनका ७ ट्याब्लेट तथा नगद २ लाख १ हजार ४३५ रुपैयाँ बरामद गरिएको छ।
उक्त कोठामा रहेका इटहरी–१ निवासी २५ वर्षीय छत्रमान लिम्बुलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट कोशी प्रदेश १० प ४११६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।
बरामद लागूऔषध, नगद र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।
उनीहरूविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post