खोटाङ : बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राई दिनभर जनताको काममा व्यस्त रहन्छन् ।
कार्यालयको काम बाहेक फुर्सदको समयलाई घरव्यवहारमा उपयोग गर्दै आएका उनले व्यावसायिक रुपमा मौरीपालन तथा आधुनिक घार निर्माणसम्बन्धी उद्योग सञ्चालन गरेका छन् ।
घरको भित्तामा रहेको खोपाको मौरीलाई आधुनिक घारमा सारेर व्यवसाय सुरु गरेका वडाध्यक्ष राईको ‘डाँडागाउँ मौरीपालन तथा मह प्रशोधन उद्योग’मा अहिले १८ आधुनिक घारमा मौरी छन् ।
जङ्गलबाट आफै आएर खोपामा बसेको मौरीलाई उहाँले व्यवसायिक रूप दिन आधुनिक घारमा सारेका हुन् ।
विसं २०७६ मा ‘मौरी स्रोत केन्द्र गोदावरी’मा तालिम लिएर आधुनिक घारसमेत निर्माण गरिरहेका वडाध्यक्ष राईले स्थानीय तीन युवालाई रोजगारीसमेत दिएका छन् ।
उनले रहरले सुरु गरेको मौरीपालन व्यवसायलाई आधिकारिक रूपमा दर्ता गरेर उद्योगमा परिणत गर्नुभएपछि धेरैले उनको सिको गर्न थालेका छन् ।
वडाध्यक्ष राई साँझ बिहान आफ्नै उद्योगमा व्यस्त हुन्छन् । अपरझट काम परेका व्यक्तिका लागि घरैमा बोलाएर तथा उनीहरूलाई पायक पर्ने ठाउँसम्म पुगेर उनले वडा कार्यालयबाट प्राप्त हुने सेवा दिने गरेका छन् ।
आफूले आफ्नै लगानीमा स्थापना गरेर सञ्चालन गरेको डाँडागाउँ मौरीपालन तथा मह प्रशोधन उद्योगमा मौरीको आधुनिक घार बिक्रीबाट मात्रै वार्षिक रु आठ लाखदेखि रु १० लाखसम्म आम्दानी हुने गरेको वडाध्यक्ष राईले जानकारी दिए ।
“हाम्रो वडामा २७० परिवारको बसोवास छ । प्रत्येक घरकाले मौरीपालन गरेका छन्”, वडाध्यक्ष राईले भने, “मौवाबोटेका सबै स्थानीयले मौरीपालनका लागि आधुनिक घार प्रयोग गरेका छन् । त्यो घार मेरै उद्योगबाट लगेका हुन् । एउटा आधुनिक घार रु चार हजार ५०० देखि रु पाँच हजारसम्ममा बिक्री गर्दै आएको छु ।”
वडाका हरेक नागरिकलाई आफ्नै ठाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन राजनीतिसँगै व्यवसायिक मौरीपालन सुरु गरेको वडाध्यक्ष राईले बताए ।
“मौरीपालन व्यवसाय जोसुकैले गर्न सक्ने व्यवसायमा पर्छ । थोरै लगानीमा सजिलो गरी धेरै आम्दानी गर्न चाहनेले मौरीपालन गर्दा उपयुक्त हुन्छ । यसमा श्रम र समय दुवैको बचत हुन्छ”, उनले भने ।
आधुनिक घारमा व्यवसायिक मौरीपालन गर्नका लागि टुनीको फ्रेम र उत्तिसको घार उपयुक्त हुने वडाध्यक्ष राईको भनाइ छ । आधुनिक घारमा टुनीको फ्रेम बनाउँदा लामो समयसम्म नमक्किने र मौरीले बस्नका लागि रुचाउने मौरीपालक किसानले बताउने गरेका छन् ।
मैवाबोटेका स्थानीयले मौरीपालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्दै आएको वडाध्यक्ष राईले बताए ।
“यहाँका किसानले कात्तिक–मङ्सिर र वैशाख–जेठ गरी एक वर्षमा दुईपटक मह काँढ्ने गरेका छन् । उत्पादित मह घरैबाट बिक्री हुन्छ”, उनले भने, “एउटा याममा किसानले ८० देखि १०० किलोसम्म मह उत्पादन गर्छन् । उत्पादित मह प्रतिकिलो रु एक हजार ५०० मा बिक्री हुन्छ ।”
वडाध्यक्ष राईसँगै मौवाबोटेका स्थानीयवासी एवं सितोरियो कराते खेलाडी जीतबहादुर राई र जगत राईले पनि केही वर्षअघिदेखि व्यावसायिक रूपमा मौरीपालन व्यवसाय गरेका छन् । सेरेना जातको एउटा धानुनिक घार मौरीबाट एक वर्षमा तीनवटासम्म नयाँ घार विस्तार गर्न सकिने मौरीपालक किसानहरू बताउँछन् ।
वडाध्यक्ष राईले कक्षा १० सम्मको अध्ययन गरेका छन् । उनले वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर अन्य अनुभव पनि बटुलेका छन् । दुबई र बहराइनमा सात वर्ष रोजगारी गरेका वडाध्यक्ष राई गाउँ फर्किएर वडाध्यक्ष पदमा निर्वाचित भए ।
वडाध्यक्ष राईको घरमा बुबा/आमा, श्रीमती तथा दुई छोरी र एक छोरा छन् । छोराछोरी छिमेकी जिल्ला उदयपुरको बेल्टारमा बसेर अध्ययन गर्दै आएका छन् । राजनीतिकसँगै व्यावसायिक मौरीपालन गरेका वडाध्यक्ष राईले छोराछोरीको पढाइ खर्च तथा घरव्यवहार मौरीपालनबाटै धान्दै आएका छन् ।
मौवाबोटेमा व्यावसायिक रुपमा मौरीपालनका लागि अहिलेसम्म स्थानीय सरकारको कुनै लगानी नरहेको किसानले बताएका छन् । लेकाली भू–भाग, पर्याप्त जङ्गल तथा उपयुक्त हावापानी भएकाले मौवाबोटेका किसानले मह उत्पादन गर्दै आएका छन् ।





















Discussion about this post