इटहरी : नेपालको पहिलो तथा सबैभन्दा ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधता, सिमसार संरक्षण र पर्यापर्यटनका दृष्टिले देशकै महत्त्वपूर्ण गन्तव्य मानिन्छ।
सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो क्षेत्र प्राकृतिक सम्पदा र दुर्लभ वन्यजन्तुको आश्रयस्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमै परिचित छ।
सन् १९८७ डिसेम्बर १७ मा रामसार सूचीमा सूचीकृत भएको कोशी टप्पु रामसार क्षेत्रको क्षेत्रफल १७ हजार ५०० हेक्टर छ। कोशी नदीको बाढी मैदानमा अवस्थित यस क्षेत्रमा नदी, सिमसार, घाँसे मैदान, दलदल र स–साना तालहरूको मिश्रित पारिस्थितिक प्रणाली रहेको छ।
कोशी टप्पुको सबैभन्दा ठूलो विशेषता यहाँ पाइने नेपालको एकमात्र जङ्गली अर्नाको प्राकृतिक बासस्थान हो। आरक्ष स्थापना हुँदा यहाँ ६३ वटा मात्र अर्ना रहेको अनुमान गरिए पनि संरक्षणका प्रयाससँगै अहिले संख्या उल्लेख्य रूपमा बढेको छ।
कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर अङ्कित पौडेलका अनुसार २०२१ को गणना अनुसार कोशीटप्पुमा ४९८ वटा अर्ना रहेका छन् ।
पौडेलका अनुसार कोशीटप्पुमा स्तनधारी ४२, पक्षी ५३५, माछा १४१ र पुतली ७७ प्रजातिका छन् । अर्ना संरक्षणकै कारण कोशी टप्पु अन्तर्राष्ट्रिय संरक्षण समुदायको चासोको केन्द्र बनेको पौडेलले बताए।
यस क्षेत्र चराचुरुङ्गी प्रेमीहरूको पनि स्वर्ग मानिन्छ। विभिन्न प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन्। साइबेरिया, मध्य
एसिया र अन्य उत्तरी क्षेत्रबाट जाडो याममा आउने हजारौं प्रवासी चराले कोशी टप्पुलाई आफ्नो अस्थायी बासस्थान बनाउने गर्छन्। त्यसैले हरेक वर्ष स्वदेशी तथा विदेशी ‘बर्ड वाचर’ हरू यहाँ पुग्ने गर्छन्।
चराचुरुङ्गीका अतिरिक्त कोशी टप्पुमा हरिण, नीलगाई, बँदेल, अजिङ्गर, घडियाल, मगर, डल्फिनलगायतका विभिन्न वन्यजन्तु तथा सरीसृप पनि पाइन्छन्। कोशी नदीमा पाइने दुर्लभ गंगेटिक डल्फिन पनि यस क्षेत्रको अर्को आकर्षण हो।
पर्यटनका हिसाबले कोशी टप्पुमा जिप सफारी, हात्ती सफारी, डुङ्गा यात्रा, बर्ड वाचिङ, प्रकृति पदयात्रा तथा स्थानीय थारू, मुसहर र अन्य समुदायको सांस्कृतिक अनुभव लिन सकिने व्यवस्था विस्तार हुँदै गएको छ। विशेषगरी असोजदेखि चैतसम्मको मौसम यहाँ भ्रमणका लागि उपयुक्त मानिन्छ।
कोशी प्रदेश सरकारले भ्रमण वर्ष मनाइरहेका बेला कोशी टप्पुलाई प्रदेशकै प्रमुख पर्यापर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सार्नुपर्ने स्थानीयवासी बताउँछन्। पर्यटन व्यवसायीहरूका अनुसार उचित प्रचार, स्तरीय आवास, प्रकृति व्याख्या केन्द्र, पदमार्ग र अन्तर्राष्ट्रिय स्तरको बर्डिङ पूर्वाधार निर्माण गर्न सके कोशी टप्पुले नेपालमा पर्यापर्यटनको नयाँ सम्भावना सिर्जना गर्न सक्छ।
संरक्षणविद् अनिष तिम्सिना कोशी नदीको बदलिँदो बहाव, बाढी, मिचाहा वनस्पतिको विस्तार र मानव–वन्यजन्तु द्वन्द्वजस्ता चुनौती समाधान नगरी दीर्घकालीन संरक्षण सम्भव नहुने बताउँछन्।
उनका अनुसार जैविक विविधता संरक्षण र पर्यटन विकासबीच सन्तुलन कायम गर्न सके कोशी टप्पु नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट सिमसार पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो।
पर्यटकका अनुसार कोशी टप्पुमा बढ्दो पर्यटक चापलाई व्यवस्थापन गर्न स्तरीय होटल, होमस्टे र अन्य पर्यटकीय पूर्वाधारको विस्तार अपरिहार्य बन्दै गएको छ।
विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष प्रारम्भमा १७५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको थियो । २०६१ सालमा मध्यवर्ती क्षेत्र थपिएपछि अहिले १७३ वर्गकिलोमिटर कायम भएको छ ।




















Discussion about this post