इटहरी : सुनसरीको कोशी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।
गएराति करिब १०ः४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८३१ नम्बरको पिकअप आफैं अनियन्त्रित भई पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक मोरङका अन्दाजी २५ वर्षीय पदम राईलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। अस्पतालमा उपचारका क्रममा चिकित्सकले राति ११ः४० बजेतिर उनलाई मृत घोषणा गरेका हुन्।
पिकअपमा सवार विराटनगर महानगरपालिका–१३ निवासी सन्तोषकुमार यादव भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनको बाहिरी चोटपटक नदेखिएको प्रहरीको भनाइ छ।
घटनापछि इलाका प्रहरी कार्यालय भण्टाबारीबाट प्रहरी नायब निरीक्षक सुरेश कुमार यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनाग्रस्त पिकअप इलाका प्रहरी कार्यालय भण्टाबारीको नियन्त्रणमा रहेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा चालकले तीव्र गतिका कारण सडकमा ध्यान नदिँदा दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post