इटहरी : सत्ता पक्षकै सांसदहरूको तीव्र विरोध र बजेट पुनर्लेखनको मागबीच कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट अन्ततः प्रदेशसभाबाट पारित गराएको छ।
गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट बिहीबार बसेको प्रदेशसभा बैठकबाट पारित भएको हो।
बजेटमाथि मन्त्रीहरूले आफ्नै निर्वाचन क्षेत्रमा योजना केन्द्रित गरेको आरोप लागेपछि सत्ता पक्षकै सांसदहरूले हस्ताक्षर अभियान चलाएका थिए। बजेटमाथिको छलफलसमेत अवरुद्ध भएपछि मन्त्री लिङ्थेपले बजेटमा कमजोरी भएको स्वीकार गर्दै साउनको तेस्रो साताभित्र करिब एक अर्ब रुपैयाँ बराबरको बजेट समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि मात्र बजेटमाथिको छलफल अघि बढेको थियो।
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप जारी गरेपछि विरोधका बाबजुद बजेट पारित भएको हो।
अब सरकारले विभिन्न मन्त्रालयका योजनाबाट करिब एक अर्ब रुपैयाँ कटौती गरी बजेट सन्तुलन मिलाउनुपर्ने बाध्यतामा परेको छ। बजेटअनुसार चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख र वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।





















Discussion about this post