इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सरोकारवाला पक्षहरूले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न पाँचबुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्।
संयुक्त निर्णयमा घटनामा मृत्यु भएका देवानगञ्जका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
निर्णयमा घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव, हुलदंगा तथा अराजक गतिविधिप्रति गम्भीर दुःख व्यक्त गर्दै यस्ता गतिविधि रोक्न सबै पक्षले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
संकटको अवस्थामा आक्रोश, प्रतिशोध र हिंसाको बाटो नअपनाई संयम, विवेक र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षले संयुक्त पहल गर्ने उल्लेख गरिएको छ। सर्वसाधारणलाई पनि संयमित रहन र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको छ।
त्यसैगरी सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा अराजक सामग्री नप्रकाशित गर्न, नबाँड्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न अपिल गरिएको छ। गलत सूचना र अफवाहले समाजमा थप तनाव सिर्जना गर्न सक्ने भएकाले सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
निर्णयमा पछिल्ला प्रदर्शनमा कलिला युवाको समेत सहभागिता देखिएकाले अभिभावकहरूलाई विशेष जिम्मेवार बन्न आग्रह गरिएको छ। युवालाई घरबाहिर ननिस्कन, भिडभाड र मुठभेडमा सहभागी नहुन तथा संयमता अपनाउन आवश्यक निर्देशन र निगरानी गर्न अभिभावकसँग अपिल गरिएको छ।
सरोकारवाला पक्षहरूले जिल्लाको शान्ति, सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न सबै समुदाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज तथा सर्वसाधारणबीच सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।













Discussion about this post