सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण बराहक्षेत्र नगरपालिका–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–१, २ र ३ मा पर्ने चिलिया र श्रीलङ्का टापुका बासिन्दा बर्सेनि जोखिममा पर्दै आएका छन्।
स्थानीय पदम राईका अनुसार केही वर्षअघि टाढा बग्ने कोशी अहिले बस्ती नजिकै आइपुगेको छ। खेतीपाती र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका स्थानीयलाई हरेक बर्खामा नदीको कटानले थप चिन्तित बनाउने गरेको छ।
कटान नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीले श्रमदान गरी बालुवा तथा सिमेन्टका बोरा राखेर अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्। सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार यसअघि निर्माण गरिएका करिब १८ स्परमध्ये नौवटा पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्।
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार चिलिया र श्रीलङ्का टापुमा करिब ६०० घरपरिवार प्रत्यक्ष जोखिममा छन्। कोशी बक्राहा नदी नियन्त्रण आयोजनाले पाँच हजार ५०० बोरा र ७० थान डोरीजाली उपलब्ध गराएको छ।
स्थानीयका अनुसार बलौटे माटो भएकाले दैनिक रूपमा जमिन कटान भइरहेको छ। गत वर्ष निर्माण गरिएका तारजालीयुक्त संरचनासमेत नदीको बहावमा पर्न थालेका छन्।
बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले कोशीको कटान स्थानीय मात्र नभई राष्ट्रिय सरोकारको विषय भएकाले संघीय सरकारले वैज्ञानिक अध्ययनका आधारमा दीर्घकालीन नदी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने बताए। उनका अनुसार स्परसँगै ड्याम, नोचलगायत संरचना निर्माण र पर्याप्त बजेट आवश्यक छ।
करिब तीन हजार जनसङ्ख्या रहेको चिलिया टापु क्षेत्रमा अधिकांश परिवार कृषि, पशुपालन तथा दुग्ध उत्पादनमा निर्भर छन्। बर्सेनि अस्थायी तटबन्ध र श्रमदानमार्फत बस्ती तथा खेतीयोग्य जमिन जोगाउने प्रयास भए पनि दीर्घकालीन समाधान हुन सकेको छैन।











Discussion about this post