धनकुटा : धनकुटाको चौबिसे गाउँपालिका–७ ठूलो ढुङ्गामा आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय युवराज लिम्बुलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजेतिर युवराजले घरमै रहेका ७० वर्षीय बुबा अमरध्वज लिम्बूको टाउकोमा काठको चिरपट प्रहार गरेका थिए। गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे बिहान ६ः१५ बजे अस्थायी प्रहरी बिट मौनाबुधुकमा सूचना पुगेपछि प्रहरी सहायक निरीक्षक जयप्रकाश रायको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी निरीक्षक विजय थापाको कमान्डमा समेत प्रहरी टोली परिचालन गरिएको थियो।
घटनापछि युवराज फरार भएका थिए। प्रहरीले उनको खोजी तीव्र पारेको थियो। खोजीका क्रममा बिहान करिब ८ः१५ बजेतिर घरबाट करिब पाँच सय मिटर दक्षिणतर्फ रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा समेत टोली परिचालन गरिएको छ।
घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। पक्राउ परेका युवराजमाथि आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।












Discussion about this post