इटहरी : कोशी प्रदेशमा पाँच वर्षमुनिका बालबालिकामा देखिएको शीघ्र कुपोषणको अवस्थाले भौगोलिक रूपमा मात्र नभई तराईदेखि पहाडसम्मै बाल पोषणको चुनौती रहेको देखाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको परीक्षणमा झापा, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा कुपोषणको दर प्रदेशका अन्य जिल्लाको तुलनामा उच्च देखिएको हो ।
निर्देशनालयका अनुसार परीक्षण गरिएका बालबालिकामध्ये सुनसरीमा सबैभन्दा धेरै १३ प्रतिशतमा शीघ्र कुपोषण देखिएको छ । सुनसरीमा १० हजार ३ सय ८१ बालबालिकाको परीक्षण गरिएको थियो ।
त्यसपछि मोरङमा ९ दशमलव ९ प्रतिशत, खोटाङमा ७ दशमलव २० प्रतिशत, उदयपुरमा ६ दशमलव ८८ प्रतिशत र झापामा ६ दशमलव ३६ प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ ।
प्रदेशका पहाडी जिल्लामा पनि अवस्था पूर्ण रूपमा सुधारिएको छैन । संखुवासभामा ५ दशमलव ८०, धनकुटामा ५ दशमलव ७६, तेह्रथुममा ५ दशमलव ६३, ताप्लेजुङमा ४ दशमलव ६७, ओखलढुंगामा ४ दशमलव ५८, पाँचथरमा ४ दशमलव ३३, इलाममा ३ दशमलव २६ र भोजपुरमा ३ दशमलव १४ प्रतिशत बालबालिकामा शीघ्र कुपोषण देखिएको छ ।
कुपोषणको अवस्था पहिचान गर्न निर्देशनालयले कोशी प्रदेशका १४ जिल्लाका १ सय ३७ स्थानीय तहमध्ये १ सय ८ स्थानीय तहमा परीक्षण गरेको थियो । परीक्षणमा पाँच वर्षमुनिका ९ हजार २१ जना बालबालिका समेटिएका थिए ।
प्राप्त तथ्यांकले कुपोषण कुनै एक जिल्लाको मात्र समस्या नभई प्रदेशभर फरक–फरक तहमा रहेको देखाएको छ । तराईका बाक्लो जनसंख्या भएका जिल्लामा परीक्षणको संख्या ठूलो भए पनि कुपोषणको प्रतिशत पनि उच्च देखिएको छ ।
पहाडी जिल्लामा भने परीक्षणको संख्या तुलनात्मक रूपमा कम भए पनि कतिपय जिल्लामा कुपोषणको दर उल्लेख्य रहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त प्रमुख सागर प्रसाईंका अनुसार कुपोषणको दर उच्च देखिएका जिल्ला र स्थानीय तहलाई छुट्टै पहिचान गरी न्यूनीकरणका लागि लक्षित योजना बनाइनेछ ।
उनका अनुसार परीक्षणबाट प्राप्त तथ्यांकमा उच्च जोखिममा रहेका पालिका र बालबालिकाको अवस्थालाई अभिलेखमा समेटिएको छ । सोही आधारमा स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ।












Discussion about this post