उदयपुर : उदयपुरका आठ वटा पालिकामध्ये ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका रहेकोमा पहाडी भएको भेगमा पर्ने ४ गाउँपालिका बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको छ । गाउँबाट नगर क्षेत्रमा बसाइँ सरी आउनेको संख्या बढ्दै गएको हो ।
उदयपुरका पहाडी पालिकाहरूमा खासगरी खेतबारीमा खेतीबाली कम हुने, सिँचाइको असुविधा, पाखोबारी, पहिरोका भय, यातायातको असुविधा भएको छ । शिक्षा, स्वास्थ्य, खानेपानीको समस्याका कारणले बसाइँसराइ गर्ने क्रम बढेको हो ।
एकातर्फ पुरुषहरू वैदेशिक रोजगारमा जाने र महिलाहरू छोराछोरी पढाउनका लागि सहर बजारमा तथा सुविधायुक्त ठाउँमा बस्ने क्रम रहेकोले वैदेशिक रोजगारबाट फर्किएपछि गाउँ नजाने र सहर बजारमै जग्गा किनेर घर बनाएर बस्ने गरेकाले गाउँ रित्तिदैँ गएको हो ।
यस विषयमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बसाइँसराइ गरी जानेका कारण जनसंख्या घटेको बताए ।
२०६८ को जनगणनाअनुसार उदयपुरगढीको जनसंख्या ३२ हजार रहेकोमा २०७८ सालको जनगणना अनुसार २८ हजार ५ सय रहेको उनले बताए ।
अध्यक्ष मगरका अनुसार पहाडी क्षेत्रमा उब्जाबाली नहुने, सिँचाइको असुविधा, बाटोको समस्या, पैसा हातमा भएर पनि किनेर खान नपाइने अवस्था छ । स्तरीय शिक्षाको अभाव, बिरामीलाई उपचारको समस्या लगायतका विविध समस्याका कारण उदयपुरगढी गाउँपालिकाबाट बसाइँसराइ गर्नेको संख्या बढेको हो ।
गत आर्थिक वर्ष (२०८२।०८३) मा उदयपुरगढीबाट बसाइँसराइ गरी जानेको संख्या एक सय ४१ घर धुरीका चार सय ५५ जना रहेको र बसाइँ आउनेको संख्या भने ७१ घरधुरीका एक सय ९८ जना रहेको अध्यक्ष मगरले बताए ।
यसैगरी लिम्चुङ्बुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष पुष्पलाल राईका अनुसार स्थानीय सरकारले बसाई सराई रोक्नका लागि सक्दो प्रयास गरिरहेको छ ।
तर नेपाल सरकारले नीति निर्माण गर्दा नेपालको हिमाली पहाडी क्षेत्रको भूगोल गाउँ घरको अवस्थालाई मध्यनजर गरेर नीति नबनाउँदा बसाई सराईले गाउँ रित्तिदैँ गएको बताए ।
अध्यक्ष राईले बाँदर आतङ्क, यातायातको असुविधा, उब्जा कम हुने लगायतका कारणहरू रहेको र यसलाई रोक्न केन्द्रीय सरकारले पनि भूगोल अनुसार नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । राज्यले दिने सेवा सुविधामा कमी भएपछि र नीति नै जनताका हितमा नभएकोले बसाइँसराइ बढेको बताए ।
लिम्चुङबुङ गाउँपालिकाबाट आ.व. २०८२।०८३ मा एक सय १४ घरका दुई सय ९९ जना बसाइँ सरी गएको र आउनेमा आठ घरधुरीका १५ जना रहेको पालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।
यसैगरी, रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रबहादुर मगरले कतिपय धेरै दुःख पाएर बसाइँ सरी जाने गरेको बताए । बसाइँसराइ रोक्नका लागि रौतामाई गाउँपालिकाले कस्तो नीति लिएको छ भन्ने जिज्ञासामा अध्यक्ष मगरले ठोस जवाफ दिन सकेनन् ।
रौतामाई गाउँपालिकाको पञ्जीकरण शाखाले दिएको विवरणअनुसार यस पालिकाबाट आ.व. २०८२।०८३ मा एक सय ५४ घरधुरीका चार सय ४९ जना बसाइँ सरी अन्यत्र गएको र ३० घरधुरीका ९५ जना अन्यत्रबाट बसाइँ सरी आएका छन् ।
यस विषयमा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्मासँग जिज्ञासा राख्दा शिक्षा स्वास्थ्यका कारण करिब ६० घरपरिवार काडमाण्डौँ बसाइँ सरी गएको बताए । हाल ताप्लीको करिब १४ हजार पाँच सय जनसंख्या र पाँच हजार ६ सय मतदाता संख्या रहेको उनले बताए ।
गाउँपालिकाको पञ्जीकरण शाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८२।०८३ मा बसाइँ सरी जाने घरधुरीको संख्या तीन सय ५६ रहेको र व्यक्तिको सदस्य संख्या एक हजार ८१ छन् । बसाइँ सरी आउने घरधुरी ३९ र व्यक्ति संख्या एक सय एक जना रहेका छन् ।
यसैगरी त्रियुगा नगरपालिकामा बसाइँ सरी आउनेको संख्या ६५९ घरधुरीका दुई हजार १३ जना रहेका छन् भने जानेको संख्या तीन सय २१ घरधुरीका नौ सय ६७ जना रहेको पञ्जीकरण शाखाका शिरोमणि खतिवडाले बताए ।
उदयपुरबाट बसाइँ सरी जानेहरू विराटनगर, काठमाण्डौँ, सुनसरी लगायतका शिक्षा स्वास्थ्य तथा अन्य सेवा सुविधा सम्पन्न जिल्लामा गएका छन् । त्रियुगामा बसाइँ सरी आउनेहरू भने खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरकै विकट पहाडी भेगजस्तै लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी, रौता लगायतका पालिकाहरूबाट आएका छन् ।
कटारी नगरपालिकामा बाहिरबाट बसाइँ सरी आउने एक सय ६७ घरधुरीका पाँच सय ३५ परिवार रहेका छन् भने बसाइँ सरेर बाहिर जाने एक सय ५४ घरधुरीका चार सय ६७ जना रहेका छन् । कटारीमा पनि खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली जिल्लाबाट बसाइँ सरी आएको पञ्जीकरण शाखाले जनाएको छ ।
चौदण्डीगढी नगरपालिका बसाइँ सरी जाने एक सय ५४ घरधुरीका चार सय ४२ जना रहेका छन् भने बसाइँ सरी आउनेहरू दुई सय एक घरधुरीका पाँच सय ७४ जना रहेका छन् । चौदण्डीगढीमा पनि खोटाङ, भोजपुर लगायतका जिल्लाबाट बसाइँ सरी आउनेहरू रहेका छन् ।
यसैगरी बेलका नगरपालिकामा बसाइँ सरी आउनेको संख्या दुई सय ४७ घरधुरीका ६ सय ९३ जना रहेका छन् भने बेलकाबाट अन्यत्र बसाइँ सरी जानेको संख्या दुई सय घरधुरीका पाँच सय ६० जना रहेका छन् । बेलकामा बढी भोजपुर र खोटाङबाट बसाइँ सरी आएका छन् भने जानेमा सुनसरी, मोरङ जिल्लामा बढी रहेका छन् ।
जिल्लामा एक हजार पाँच सय ९९ घरधुरीका चार हजार सात सय २० जना बसाइँ सरी गएका छन् । बसाइँ सरी आउनेको संख्या एक हजार चार सय २२ घरधुरीका चार हजार दुई सय ८४ जना रहेको छ ।
पहाडी ४ गाउँपालिकामा बसाइँ सरी आउने घरधुरी एक सय ४८ का चार सय नौ जना छन भने शहरी तथा बजार क्षेत्रमा बसाइँ सरी आउने एक हजार दुई सय ७४ घरधुरीका तीन हजार आठ सय १५ जना रहेका छन् ।
पहाडी गाउँपालिकाबाट विविध असुविधाका कारण बसाइँ सरेको देखिन्छ भने शहरी तथा बजार क्षेत्रबाट उच्चस्तरको शिक्षा, स्वास्थ्य तथा भौतिक सेवा सुविधा लिन तथा सम्पन्न परिवारहरू सुखभोगका कारण बसाइँ गर्नेहरू रहेका छन् ।
नगर र गाउँपालिकामा जिल्लामा सबैभन्दा बढी ताप्लीबाट तीन सय ५६ घरका एक हजार ८१ जना बसाइँ सरी गएका छन् । नगरपालिकामा त्रियुगा नगरपालिकाबाट तीन सय २१ घरधुरीका नौ सय ६७ जना बसाइँ सरेर अन्यत्र गएको देखिन्छ ।
जिल्लाको सबैभन्दा सुविधायुक्त मानिएको र सदरमुकाम रहेको नगरपालिकाबाट नै बसाइँ सरी जानेको संख्या निकै रहेको देखिन्छ ।
नगरपालिका तथा गाउँपालिकाले जनतालाई दिनुपर्ने सेवा, सुविधा दिन नसक्दा बाटो घाटोको असुविधा बाँदरको समस्या, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइको असुविधा, उब्जाबाली नहुने पाखोबारी, बाढीपहिरो लगायतका समस्याले गर्दा मानिस बसाइँसराइ जान बाध्य हुनुपरेको लिम्चुङबुङ गाउँपालिकाका समाजसेवी राजकुमार राईले बताए ।
लिम्चुङ्बुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष जनदीप थापा मगरका अनुसार १ नं. वडाबाट आर्थिक वर्ष २०८२।०८३ मा १८ घर परिवारका ६० जना बसाइँसराइ गरेर अन्यत्र गएको र पालिकाबाट सेवा, सुविधा उपलब्ध गराउँदा पनि बस्न नमानेको अवस्था छ ।
विगतको तुलनामा पालिकाले स्थानीयलाई सेवा, सुविधा बढाएको र वैदेशिक रोजगारमा जानेहरू नै बढी सुविधायुक्त ठाउँमा बसाइँ जाने गरेको उनले बताए ।
उक्त पालिकाको २ नं. वडाबाट ०५७।५८ देखि बसाइँ सरी जाने क्रम बढेको जानकारी दिदैँ २ नं वडा सचिव हेमन्त राईले २ नं. वडामा पहिले चार हजार जनसंख्या रहेकोमा अहिले घटेर दुई हजार पाँच सय रहेका छन् ।
वि.सं. २०८२।०८३ मा २६ घरका ७३ जना बसाइँ सरी गएका छन् । उनले आ.व. ०८१।०८२ मा २ नं. वडाबाट ३१ घरका एक सय पाँच जना बसाइँ सरी अन्यत्र गएको बताए । बसाइँसराइको मुख्य कारण भौगोलिक अवस्था, भौतिक सुविधा नहुनु, पाखो बारी, सिचाइँको असुविधा, उब्जाबाली नहुनु, शिक्षा, स्वास्थ्य खानेपानी, सडक यातायात नहुनु रहेको बताए ।
३ नं. वडाका सचिव गौतम दाहालले आ.व. २०८२।०८३ मा २७ घरका ४५ जना बसाइँ सरेर गएको बताए । ४ नं. वडाबाट ३२ घरका ८८ जना बसाइँ सरी गएको वडाध्यक्ष छत्रबहादुर राईले बताए ।
५ नं. वडाबाट पाँच घरका २७ जना बसाइँ सरेर अन्य गएको वडाध्यक्ष कविचन्द्र राईले बताए ।











Discussion about this post