आफ्नै सुन्दरताको पर्दा च्यातेर
जब तिमी उर्लिन्छौ
आफ्नै बाँध नाघेर—
आकाशको नीलो मौनता
एकाएक चर्किन्छ।
हावाले आफ्नै वेग बदल्छ,
बादलले धैर्य गुमाउँछ,
नदीले किनारा चिन्दैन,
र पहाडले आफ्नै छाती
चिरेर धरतीको मौनता टुटाउँछ।
तिमी—
कहिले शीतल स्पर्श बनेर
पातका नसानसामा जीवन भर्छौ,
कहिले उग्र भएर
आफ्नै सुन्दरतालाई चिथोर्दै
कुरूपताको एउटा
कठोर दर्शन दिन्छौ।
जब
तिमी मुस्कुराउँछौ—
माटोको गर्भबाट
हिमाल उम्रिन्छ,
आकाशले
नयाँ उज्यालो ओढ्छ।
बीउले जीवनको रूप लिन्छ।
तिमी अत्यन्त सुन्दर छौ—
तर
जब तिमी
ताण्डवमा उत्रिन्छौ,
सृष्टिको सौन्दर्य
मौन हुन्छ,
हावा आँधी बन्छ,
शान्त नदी उन्मत्त हुन्छ,
धरती
भू–कम्पन बोकेर
कराउन थाल्छे।
र अघोषित विनाशको
शङ्खनाद हुन्छ।













Discussion about this post