उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० मा गत महिनादेखि सुरु भएको ‘हातेमालो श्रमदान कार्यक्रम’ले स्थानीयस्तरमा उत्साह बढाएको छ।
टोल विकास संस्थामार्फत त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष किरण पाण्डेको नेतृत्वमा सञ्चालन भइरहेको श्रमदान कार्यक्रममा हालसम्म २ सय १० जना सहभागी भइसकेका छन्। श्रमदानमार्फत सडक मर्मत तथा सम्भार, निर्माण, सरसफाइ, तारजाली लगाउने, नाला सफा गर्ने तथा मर्मतसम्भार, कल्भर्ट निर्माण र मर्मतलगायतका काम भइरहेको वडाध्यक्ष पाण्डेले बताए।
श्रमदान अभियानमा सम्बन्धित टोल विकास संस्थाका सदस्य, बगैँचा बजार व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, वडा समन्वय समिति र वडा साकेला समितिको सहकार्य रहेको पाण्डेले जानकारी दिए।
वडा नम्बर १० को बगैँचा बजारमा रहेको वनभोजस्थल सरसफाइ, गोलघर निर्माण तथा वृक्षरोपणका लागि खाल्डो खन्नेलगायतका काम सम्पन्न भएका छन्। अब केही दिनमै वृक्षरोपण गरी हरियाली बढाउने योजना रहेको छ। आगामी दिनमा पनि निरन्तर रूपमा ‘हातेमालो’ कार्यक्रमलाई अघि बढाइने वडाध्यक्ष पाण्डेले बताए।
उनका अनुसार श्रमदान कार्यक्रमले पालिकाको आर्थिक स्रोतमा निर्भर हुनुपर्ने अवस्था घटाउनुका साथै आपसी सहयोगको भावना वृद्धि गर्नेछ। विकास निर्माणका काममा एकअर्काको मुख ताक्न नपर्ने र आर्थिक रूपमा कम खर्चमा धेरै काम गर्न सकिने भएकाले कार्यक्रम प्रभावकारी रहेको उनको भनाइ छ।
वडाध्यक्ष पाण्डेका अनुसार वडा नम्बर १० का प्रत्येक टोल विकास संस्थाका सदस्यको सहभागितामा टोल तथा गाउँबस्तीमा श्रमदानमार्फत विकास निर्माणका काम सञ्चालन गरिनेछ।
‘आफ्नो गाउँको काम आफैँ गर्नुपर्छ। वडा कार्यालय वा नगरपालिकाको भर पर्दा काममा ढिलाइ हुने, समयमा बजेट निकासा नहुने र अनावश्यक खर्च बढ्ने भएकाले कम खर्चमा धेरै काम गर्न सकिने उपायका रूपमा हातेमालो श्रमदान अभियानलाई अघि बढाइएको हो,’ वडाध्यक्ष पाण्डेले भने।
उनले वडा नम्बर १० का सबै टोल विकास संस्थालाई सहभागी गराएर अभियानलाई निरन्तरता दिने योजना रहेको बताए।
















Discussion about this post