इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५ गते सुनसरी, धनकुटा र उदयपुरका विभिन्न स्थानबाट उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।
धरान–१४ विजयपुर डाँडामा लागूऔषध गाँजा बिक्री भइरहेको सूचनाका आधारमा परिचालित प्रहरी टोलीले भोजपुर घर भई विजयपुर डाँडामा कोठा भाडामा लिएर बस्दै आएका २३ वर्षीय रितेश राईलाई पक्राउ गरेको छ। उनको कोठाबाट ६३० ग्राम गाँजा, डिजिटल तराजु एक थान र गाँजा बिक्रीबाट प्राप्त भएको भनिएको ८ लाख ८७ हजार ७ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–६ बाट अन्सु राईलाई ७ किलो ५०० ग्राम गाँजासहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–१६ का २४ वर्षीय कबिर सहनी, धरान–१४ का सुनिल दाहाल र धरान–१३ का सुचम्वर राईलाई १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधि १ हजार २०४ ट्याब्लेटसहित पक्राउ गरेको छ।
धनकुटाको प्रहरी चौकी अखिसल्लाले सहिदभूमि गाउँपालिका–७ का २१ वर्षीय प्रगत राईलाई ट्रामाडोल २९० क्याप्सुल र स्पास्पेन २९० क्याप्सुलसहित पक्राउ गरेको छ। प्रहरी चौकी मुलघाटले भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ का २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका–६ का २४ वर्षीय प्रविन राईलाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यस्तै, उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरले बेलका नगरपालिका–४ मा बा.६२ प ११८२० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर, नाट्राजेपाम २० ट्याब्लेट र ट्रामाडोल १ हजार ५१० क्याप्सुल बरामद गरी मोटरसाइकल नियन्त्रणमा लिएको छ। घटनामा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विभिन्न मुद्दाका ६ फरार प्रतिवादी पक्राउ
यसैबीच, विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। असोज ५ गते खोजतलासका क्रममा मोरङबाट दुई, सुनसरीबाट दुई, ताप्लेजुङबाट एक र उदयपुरबाट एक जना गरी ६ जनालाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेकाबाट १ वर्ष ९ महिना १ दिन कैद सजाय तथा १ लाख १९ हजार रुपैयाँ जरिवानाबापतको रकम असुल गरिएको छ। पक्राउ परेका सबैलाई कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।
















Discussion about this post