उदयपुर : उदयपुरमा विगतमा दर्ता भएका विभिन्न प्रकारका घरेलु उद्योगहरु सञ्चालनमा नआउँदा स्थानीय रोजगारी गुमेको छ । नयाँ उद्योग स्थापना हुने क्रम पछिल्लो पाँच वर्षमा झन्डै दुईतिहाइले घटेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, गाईघाटको वार्षिक प्रगति प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७८-७९ मा ४५८ वटा नयाँ उद्योग दर्ता भएकोमा आर्थिक वर्ष ०८२/८३ मा १६६ वटामा झरेको हो । यस अवधिमा नयाँ उद्योग दर्ता ६३.८ प्रतिशतले घटेको देखिन्छ ।
कार्यालयको प्रगति प्रतिवेदन अनुसार २०७८/७९ मा ४५८ वटा नयाँ उद्योग दर्ता भएका थिए । त्यसपछि ०७९-८० मा २९४, ०८०-८१ मा २४७, ०८१-८२ मा १८४ र ०८२-८३ मा १६६ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
पछिल्ला पाँच वर्षमा हरेक वर्ष नयाँ उद्योग दर्ता घटेको देखिन्छ । उद्योग दर्तासँगै नयाँ उद्यमी थपिने क्रम पनि तीव्र रूपमा घटेको घरेलु तथा साना उद्योग कार्यालय, गाईघाटका प्रमुख पूर्णबहादुर थापाले बताए ।
उनका अनुसार ०७८-७९ मा एक हजार ६६३ जना नयाँ उद्यमी थपिएका थिए । ०७९-८० मा ३२०, ०८०-८१ मा २७०, ०८१-८२ मा १९३ र ०८२-८३ मा १७४ जना मात्रै नयाँ उद्यमी थपिएका छन् । पाँच वर्षमा नयाँ उद्यमी थपिने सङ्ख्या ८९.५ प्रतिशतले घटेको छ ।
नयाँ उद्योगबाट सिर्जना हुने रोजगारी पनि घट्यो
नयाँ उद्योगबाट सिर्जना हुने रोजगारीमा पनि ठुलो गिरावट आएको छ । ०७८-७९ मा चार हजार ७९४ जनाले नयाँ उद्योगमार्फत रोजगारी पाएका थिए । तर, ०७९-८० मा एक हजार २७, ०८०-८१ मा एक हजार २४०, ०८१-८२ मा ७२२ र ०८२-८३ मा ५९५ जनामा सीमित भएको छ । यसरी पाँच वर्षमा नयाँ उद्योगबाट सिर्जना हुने रोजगारी ८७.६ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको थापाले बताए ।
सेवामूलक उद्योगमा बढी आकर्षण
गत आर्थिक वर्ष ०८२-८३ को तथ्यांक हेर्दा दर्ता भएका १६६ उद्योगमध्ये सेवामूलक उद्योग सबैभन्दा धेरै छन् । सेवामूलक ६६, कृषि तथा वनजन्य ५७, पर्यटन २३ र उत्पादनमूलक २० उद्योग दर्ता भएका छन् ।
कुल दर्ताको ३९.८ प्रतिशत सेवामूलक, ३४.३ प्रतिशत कृषि तथा वनजन्य, १३.९ प्रतिशत पर्यटन र १२ प्रतिशत उत्पादनमूलक उद्योग छन् । ऊर्जामूलक, निर्माणजन्य, खनिजजन्य तथा सूचना प्रविधितर्फ भने कुनै उद्योग दर्ता भएको छैन ।
दर्ता भएका १६६ उद्योगमध्ये १५० निजी फर्म, सात साझेदारी फर्म र नौ कम्पनी छन् । कृषि तथा वनजन्यतर्फ मात्रै ५२ निजी, चार साझेदारी र एक कम्पनी गरी ५७ उद्योग दर्ता भएका छन् ।
उद्योग घटे पनि राजस्वमा उतारचढाव
थापाका अनुसार नयाँ उद्योग दर्ता निरन्तर घटे पनि कार्यालयको राजस्व भने सोही अनुपातमा घटेको छैन । ०७८-७९ मा ५१ लाख दुई हजार ११३ रुपैयाँ राजस्व संकलन भएकोमा ०७९-८० मा ३९ लाख ४९ हजार ५५० रुपैयाँमा झरेको थियो ।
त्यसपछि राजस्व बढेर ०८०-८१ मा ५८ लाख ७३ हजार, ०८१-८२ मा ६४ लाख २२ हजार ३५१ रुपैयाँ पुगेको थियो । तर, ०८२-८३ मा पुनः घटेर ५० लाख दुई हजार रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षको राजस्वमध्ये व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट मात्रै ४६ लाख २० हजार ९५० रुपैयाँ सङ्कलन भएको छ । प्रशासनिक सेवा शुल्कबाट एक लाख ६९ हजार ६ सय, प्रदूषण नियन्त्रण शुल्कबाट ८० हजार, अन्य बिक्रीबाट ७० हजार २४० र गत वर्षको बेरुजुबाट ५९ हजार २३० रुपैयाँ प्राप्त भएको कार्यालयले जनाएको छ ।
कुल उद्योग सङ्ख्या भने बढ्यो
नयाँ उद्योग दर्ता घटे पनि जिल्लामा दर्ता भएका उद्योगको कुल सङ्ख्या भने बढेको छ । ०७८-७९ सम्म तीन हजार ८०१ उद्योग दर्ता भएकोमा ०८२-८३ सम्म कुल सङ्ख्या पाँच हजार ८१० पुगेको छ । तर, कुल उद्योग सङ्ख्या बढिरहे पनि नयाँ उद्योग, उद्यमी र रोजगारी सिर्जनाको वार्षिक गति लगातार खुम्चिएको छ ।
कार्यालय प्रमुख थापाले विशेषगरी उत्पादन, निर्माण, खनिज र सूचना प्रविधितर्फ नयाँ उद्योग दर्ता शून्य हुनु जिल्लाको औद्योगिक गतिविधिको कमजोर पक्षका रूपमा देखिएको बताए ।
‘स्थानीय कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सके मात्रै जिल्लामा औद्योगिक गतिविधि र रोजगारी विस्तारको गति बढाउन सकिन्छ,’ उनले भने ।
















Discussion about this post