विराटनगर : मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन कडा निर्देशन दिएको छ ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले सडक तथा पूर्वाधारमा पुग्न सक्ने सम्भावित क्षति न्यूनीकरण र तत्काल मर्मतका लागि संयन्त्रहरू तम्तयार राखिएको हो ।
वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपत्ति र त्यस बखत तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले जानकारी दिए ।
मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा पूर्वाधारहरूको नियमित निगरानी बढाउन, उपलब्ध जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र कुनै पनि विपद् आइपरे तत्काल परिचालन भई मन्त्रालयलाई जानकारी गराउन मातहतका निकायलाई निर्देशित गरेका छन् ।
साथै, विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै मन्त्री आचार्यले कोशी प्रदेशवासी आम जनसमुदायलाई समेत उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि ८ गते कोशी प्रदेशमा मौसम अत्यधिक सक्रिय रहनेछ ।
आज राति कोशीका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाका साथै पहाडी र तराईका एक–दुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना छ ।
बिहीबार पनि कोशीका धेरै स्थानमा मध्यम वर्षा, केही स्थानमा भारी वर्षा र पहाडी भूभागका एक९दुई स्थानमा ‘धेरै भारी’ वर्षा हुने अनुमान गरिएको छ । भारी वर्षाका कारण पहिरो, बाढी तथा गेग्रान बहावको उच्च जोखिम रहने भएकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।
















Discussion about this post