विराटनगर : कोशी प्रदेशका विभिन्न जिल्लामा एकैदिन भएका १२ वटा सवारी दुर्घटनामा ३० जना घाइते भएका छन्।
दुर्घटनामा घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा सप्तरीको फत्तेपुरबाट विराटनगरतर्फ आउँदै गरेको ईभी हाइस अनियन्त्रित भई दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
घाइतेमध्ये तीन जनाको प्राइम अस्पताल विराटनगर, सात जनाको सप्तकोशी न्युरो अस्पताल र अन्यको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ।
चालक आर्यन पोखरेललाई उपचारपछि जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा राखिएको छ। प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको छ।
यस्तै, मोरङको रंगेलीमा सिटी सफारी अनियन्त्रित हुँदा चालक सुमनकुमार साह घाइते भएका छन्।
विराटनगर–७ शनिहाट चोकमा स्कुटी दुर्घटना हुँदा पछाडि सवार जीवेश चौधरी घाइते भएका छन्।
विराटनगर–३ तिनपैनीमा कारले साइकललाई ठक्कर दिँदा साइकलयात्री अन्सु कुमारी शाह घाइते भएकी छन्।
उदयपुरको चौदण्डीगढी नगरपालिका–६ मा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
खोटाङको ऐसेलुखर्कमा बोलेरो जिप सडकबाट करिब ५० मिटर तल खस्दा चालक टंक दाहाल र यात्रु हिरादेवी निरौला घाइते भएका छन्। प्रहरीले खोटाङको दुर्घटना चिप्लो कच्ची सडकका कारण भएको जनाएको छ।
झापाको कनकाई नगरपालिका–३ मा सिटी सफारी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
धनकुटाको रमाइलो घुम्तीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
मोरङको रंगेली–४ मा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
त्यस्तै, उदयपुरको ताप्ली गाउँपालिका–५ मा मोटरसाइकल सडकबाट करिब ३० फिट तल खस्दा चालक सुमन परियार गम्भीर घाइते भएका छन्।
झापाको बिर्तामोड–४ मा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनाका कारणमा तीव्र गति, सडकको अवस्था, सवारी चालकको लापरबाही, मादक पदार्थ सेवन तथा यान्त्रिक गडबडी लगायत रहेका छन्।
ताप्लेजुङको फुङलिङमा भएको बोलेरो दुर्घटनामा भने मानवीय क्षति नभएको र यान्त्रिक गडबडीका कारण दुर्घटना भएको जनाइएको छ।
















Discussion about this post