धरान : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवा खुलातर्फ केन्द्रीय सदस्य पदमा दोर्जी शेर्पाले उम्मेदवारी दिएका छन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका शेर्पाले नयाँ पुस्ताको प्रतिनिधित्व र नेतृत्वमा पुस्तान्तरणलाई आफ्नो अभियानको मुख्य विषय बनाएका छन् ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको एकाइ तहबाट राजनीतिक यात्रा सुरु गरेका शेर्पा अहिले नेविसंघ कोशी प्रदेश अध्यक्षको जिम्मेवारीमा छन् । लामो समय विद्यार्थी संगठनमा सक्रिय रहेर संगठन निर्माण, युवा परिचालन तथा विद्यार्थीका मुद्दामा काम गर्दै आएका उनी अब पार्टीको मूल नेतृत्वमा युवा पुस्ताको उपस्थिति बलियो बनाउने लक्ष्यसहित महाधिवेशनको चुनावी मैदानमा उत्रिन लागेका हुन् ।
शेर्पाको राजनीतिक यात्रा वि.सं. २०६८ सालमा नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस धरान एकाइ सदस्यबाट सुरु भएको थियो । संगठनमा सक्रिय हुँदै उनी २०७१ सालमा एकाइ सहसचिव बने । त्यसपछि २०७३ सालमा महेन्द्र बहुमुखी क्याम्पस धरानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिवको जिम्मेवारी सम्हाले ।
विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय रहेका शेर्पाले २०७४ देखि २०७८ सालसम्म नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस धरान एकाइ समितिको कार्यवाहक अध्यक्ष भएर काम गरे। क्याम्पसमा अध्ययनरत विद्यार्थीका शैक्षिक तथा अन्य सरोकारका विषय उठाउँदै आएका उनले विशेषगरी पूर्वी पहाडी जिल्लाबाट धरानमा अध्ययन गर्न आउने विद्यार्थीका अध्ययन, आवास, छात्रावास तथा क्याम्पसका अतिरिक्त क्रियाकलापसँग सम्बन्धित विषयमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
विद्यार्थी राजनीतिसँगै पार्टीको मूल संगठनमा समेत सक्रिय रहेका शेर्पा कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेश प्रतिनिधि बने। वि.सं. २०७९ सालमा नेविसंघ केन्द्रीय कार्यसमिति सदस्य बनेपछि उनले विद्यार्थी संगठनको केन्द्रीय तहमा रहेर संगठन विस्तार, युवा परिचालन तथा विद्यार्थीका मुद्दामा काम गर्दै आएका छन् ।
वि.सं. २०८२ सालमा नेविसंघ कोशी प्रदेश अध्यक्ष बनेका शेर्पा हाल पनि संगठनका गतिविधिमा निरन्तर सक्रिय छन् । एकाइ सदस्यदेखि सहसचिव, स्ववियु सचिव, कार्यवाहक अध्यक्ष, केन्द्रीय सदस्य हुँदै कोशी प्रदेश अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका उनी अब पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा छन् ।
३५ वर्षमुनिको युवा फाँटबाट उम्मेदवारी दिएका शेर्पा सुनसरीबाट युवा पुस्ताको प्रतिनिधित्व गर्ने प्रमुख दाबेदारका रूपमा प्रस्तुत भएका छन् । उनी सुनसरी क्षेत्र नम्बर १ बाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भएका थिए ।
उम्मेदवारी घोषणा गर्दै शेर्पाले नयाँ सोच, नयाँ संकल्प र नयाँ ऊर्जासहित महाधिवेशनको चुनावी मैदानमा उपस्थित भएको बताएका छन् । कांग्रेसलाई समयानुकूल गतिशील र सशक्त बनाउन परिवर्तन, युवा सहभागिता र प्रभावकारी नेतृत्व आवश्यक रहेको उनको भनाइ छ। “परिवर्तन, युवा सहभागिता र सशक्त नेतृत्वका लागि यहाँहरूको साथ, सहयोग र विश्वासको अपेक्षा गर्दछु,” शेर्पाले भने।
उनले युवालाई पार्टीको नीति निर्माण र नेतृत्व तहमा थप प्रभावकारी रूपमा सहभागी गराउने तथा विद्यार्थी राजनीतिबाट आएका युवालाई पार्टीको मूलधारमा स्थापित गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राख्ने तयारी गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनलाई नयाँ पुस्ताले पार्टीको भावी नेतृत्वमा आफ्नो स्थान खोज्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यही परिवेशमा विद्यार्थी राजनीतिबाट पार्टीको केन्द्रीय नेतृत्वको दौडमा आएका शेर्पाको उम्मेदवारीलाई कांग्रेसभित्र युवा सहभागिता र नेतृत्व विकासको बहससँग जोडेर हेरिएको छ ।
विशेष गरी देउवालाई पछाडि पारेर तेस्रो पुस्ताका रुपमा उदाएका गगन थापाको नेतृत्वमा समाहित हुन लागेको नेपाली काँग्रेसको महाधिवेशनमा युवा सहभागिता बढेको छ ।
एकाइ सदस्यदेखि नेविसंघको प्रदेश अध्यक्षसम्मको संगठनात्मक यात्रा पूरा गरेका शेर्पाले अब पार्टीको केन्द्रीय सदस्य बनेर युवा पुस्ताको आवाजलाई नीति निर्माण र नेतृत्वको तहसम्म पु¥याउने लक्ष्य लिएका छन् । केन्द्रीय सदस्य निर्वाचित हुनेमा आशावादी रहेको शेर्पाले बताए ।

















Discussion about this post