इटहरी : इटहरी रंगशालामा बुधबार साँझ गीत मात्रै गुञ्जिरहेका थिएनन्, देश र समाजप्रतिको एउटा सन्देश पनि फैलिरहेको थियो । मञ्चमा नेपथ्यका अमृत गुरुङ थिए, रंगशालाभर युवायुवतीका हात हावामा थिए ।
कोही गीतसँगै स्वर मिलाइरहेका थिए, कोही सिटी बजाउँदै थिए र कोही संगीतको तालमा झुमिरहेका थिए ।
तर लोकप्रिय गीतहरूका बीचमा गुरुङले दर्शकलाई मनोरञ्जनमा मात्रै सीमित राखेनन् । उनले बारम्बार नेपाली हुन र समाज विभाजित नहुन आग्रह गरिरहे ।
साँझ ६ बजेपछि मञ्चमा उक्लिँदै उनले भने, ‘तिहारको तयारी बेला अनि धान काट्ने बेला, नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई अभिवादन गरे। त्यसपछि ‘गाउँ गाउँबाट उठ’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘भेडाको उन’, ‘रेशम’, ‘पोखरा बजार’ र ‘रुकुम’ लगायत गीतले रंगशालालाई संगीतमय बनायो ।
गीतको लयबीच गुरुङको आग्रह भने समाजसँग जोडिएको थियो । जात, धर्म र पहिचानका नाममा विभाजित नभई नेपाली भएर बाँच्नुपर्ने उनको भनाइ थियो । देश निर्माण राजनीतिक दल वा सरकारको मात्र जिम्मेवारी नभई कर्मचारीदेखि आम नागरिकसम्मको साझा दायित्व भएको उनले स्मरण गराए ।
युवालाई विदेश पठाउने बाध्यता अन्त्य गरेर नेपालमै अवसर सिर्जना गर्नुपर्ने उनको सन्देशले रंगशालामा उपस्थित युवा पुस्तालाई विशेष रूपमा छोएको देखिन्थ्यो ।
‘अरू देशका युवालाई नेपाल भित्र्याउने वातावरण बनाऔँ,’ उनले भने । गायनका क्रममा गुरुङले मनोरञ्जनसँगै सामाजिक सद्भाव, राष्ट्रिय एकता र मानवीय सेवाको सन्देश दिए ।
तीन दशकभन्दा लामो सांगीतिक यात्रापछि पहिलोपटक इटहरी पुगेको नेपथ्यले त्यस साँझ कन्सर्टसँगै गीतमार्फत देशलाई जोड्ने, समाजप्रति जिम्मेवार बन्ने र आफ्नै भूमिमा भविष्य खोज्ने सन्देश पनि छाड्यो ।
पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा भएको ‘नेपथ्य लाइभ इन कन्सर्ट इटहरी’ले संगीतसँगै स्थानीय आर्थिक गतिविधि र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुगेको आयोजकको भनाइ छ ।

















Discussion about this post