उदयपुर : उदयपुरको बेलका नगरपालिका वडा नं. ५ का भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबारीहरु करिब ११ हजारमध्ये ४३ घर परिवारलाई मात्र एक कार्यक्रमका बीच जग्गाधनी प्रमाणपत्रको पुर्जा वितरण गरिएको छ । वितरित पुर्जा जम्मा भूमिहीनमध्ये ०.३९ प्रतिशत हो ।
बेलका नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाकुमार थापाले करिब ११ हजार लालपुर्जा वितरण गर्नुपर्ने माग गरेका छन् । गत शुक्रबार बेलकाको वडा नं ५ स्थित घुम्ने आइतबारेमा आयोजित एक कार्यक्रमका बीच उदयपुर १ का संघीय सांसद तथा कार्यक्रमका प्रमुख अतिथि पारसमणि गेलालले ४३ घर परवारका भूमिहीन दलित, सुकुम्बासी तथा अन्यलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।

कार्यक्रममा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै सांसद गेलालले सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जतिसक्दो छिटो जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने नीति लिएको र खास सुकुम्बासी पहिचान गरेर अन्यत्र जग्गा भए नभएको बुझेर जो वर्षौदेखि जग्गा खनजोत गर्ने तर त्यसको स्वामित्व नपाएका गरिब दलित, आदिवासी जनजाती वा अन्य जो भए पनि वास्तविक सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाउनुपर्ने र विवादरहित ढङ्गले वितरण गर्नुपर्ने बताएका थिए ।
सो कार्यक्रममा बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत सङ्कलन गरी जग्गा नापजाँच तथा अन्य विवरण लिने काम सकिएको हुँदा बाँकी जग्गाधनी प्रमाण पुर्जा पनि जतिसक्दो छिटो वितरण गरिने बताएका छन्।
बेलका नपाका पूर्व नगर प्रमुख दुर्गाकुमार थापाले बेलका नपामा करिब ११ हजार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरु जग्गा कमाएर बसेका भए पनि जग्गाको मालिक बन्न नपाएको गुनासो गरेका छन् । उनीहरुले खनजोत गरेर उपभोग गरिरहेका जग्गाको स्वामित्व हस्तान्तरण गर्न ढिलो भएकोले नेपाल सरकारको नीति तथा स्थानीय सरकारको दायित्व कर्ताव्य अनुसार काम गर्नुपर्ने बताएका छन् ।
बेलका नगरपालिकाका पूर्व नगर प्रमुख थापाको कार्यकालमा UN Habitat, सामुदायिक आत्मनिर्भर केन्द्र CSRC, भूमि अधिकार मञ्च, राष्ट्रिय भूमि आयोग र तत्कालीन भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग र बेलका नगरपालिकाको नेतृत्वमा सबै क्रियाशील राजनीतिक दलहरुको सहभागितामा गठित नगरपालिका र वडा स्तरीय सहजीकरण समितिले सहयोग गरी सामाजिक परिचालन विधि STDM मोडलबाट बेलका नगरपालिकामा ३ वर्ष लगाएर जग्गा नापी गरिएको थियो ।
थापाले तत्कालीन बेलका नगरपालिकाले नाप नक्सा गरेर कोडिङ्ग गरेका सर्जमिन मुचुल्का गरेका र नक्सा तयार गरेका भूमिहीन दलितको ४०७, भूमिहीन सुकुम्बासीको १०१०, अव्यवस्थित बसोबासीको ९४७९ गरी जम्मा १० हजार ८ सय ९६ लालपुर्जा यथाशीघ्र वितरणका लागि माग गरेका छन् । जम्मा ४३ थान लालपुर्जा बाँढेर सरकारले जग्गा धनीपुर्जा बाँढेको भ्रम नछर्न उनले आग्रह गरे।
















Discussion about this post