मोरङ : भान्छामा भएको ग्यास चुहावटबाट सल्किएको आगोले मोरङको रतुवामाई नगरपालिका–९ भौडा टोलकी ३० वर्षीया सुरक्षा भट्टराईको जीवन खोसेको छ ।
आगलागीमा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत भट्टराईको बिहान २ः४५ बजे मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गत कात्तिक २४ गते अपराह्न करिब ४ः३० बजे राधाश्याम पौडेलको घरमा भएको आगलागीमा उनी गम्भीर घाइते भएकी थिइन् ।
घरको भुइँतलामा रहेको भान्छा कोठामा ग्यास चुहावट भएपछि अचानक आगो लागेको थियो । भान्छाबाट बाहिर निस्कने क्रममा उनी आगोको चपेटामा परेकी थिइन् ।
घटनालगत्तै उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुर्याइएको थियो । अवस्था गम्भीर भएपछि सोही दिन नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो ।
तर, चिकित्सकको प्रयास र लामो उपचारका बाबजुद उनको जीवन बच्न सकेन ।
सुरक्षा र उनका श्रीमान् प्रमोद पोखरेल दुवै हिमालयन बैंकमा कार्यरत थिए । उनीहरूकी एक छोरी छन् ।
आगलागीबाट घरको भान्छा कोठामा रहेका भाँडावर्तन, फर्निचर, अन्नपात, लत्ताकपडा, फ्रिज, दराज र टेलिभिजनसमेत जलेर नष्ट भएका थिए । प्रहरीका अनुसार घटनाबाट करिब १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
















Discussion about this post