इटहरी : इटहरीका आदिवासी जनजाति समुदायका अगुवाहरूले नगरको दीर्घकालीन विकासका लागि जातीय, धार्मिक तथा सांस्कृतिक विविधताको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
विकास भन्नाले भौतिक संरचना निर्माण मात्र नभई सामाजिक, सांस्कृतिक र भाषिक विकाससमेत बुझ्नुपर्ने उनीहरूको धारणा छ । उनीहरूले नगरको समृद्धि र विकासमा आदिवासी जनजाति समुदायको सहभागिता तथा प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ इटहरी समितिले आयोजना गरेको ‘भोलिको इटहरीमा आदिवासी जनजाति’ विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न जातीय संस्थाका प्रतिनिधि तथा अगुवाहरूले आदिवासी जनजातिको विकासका लागि केही काम भए पनि ती पर्याप्त नभएको बताए ।
उनीहरूले दीर्घकालीन योजना बनाएर भाषा, लिपि, संस्कृति, धार्मिक स्थल, परम्परा र समुदायको आर्थिक तथा सामाजिक विकासलाई एकसाथ अघि बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा सहभागी अगुवाहरूले इटहरीको भिजन निर्माण गर्दा आदिवासी जनजातिको जनसङ्ख्या, इतिहास, भाषा, संस्कृति, धार्मिक स्थल, आर्थिक अवस्था र प्रतिनिधित्वसम्बन्धी तथ्याङ्क सङ्कलन गरी त्यसका आधारमा योजना बनाउनुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले भौतिक पूर्वाधारसँगै सांस्कृतिक पहिचान, सामाजिक न्याय, रोजगारी, शिक्षा, सुरक्षा र समुदायको अधिकारलाई समेत समेट्ने विकास अवधारणा आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा राजेन्द्र साँवाले इटहरीमा व्यवस्थित अस्पताल र विश्वविद्यालयको आवश्यकता औँल्याउँदै लिम्बु भाषालाई विद्यालयमा पठनपाठन गराउने र सरकारी कामकाजमा समेत प्रयोग गर्ने व्यवस्था हुनुपर्ने बताए ।
सिरिजङ्गा लिपिको विकास र प्रयोग, मौलिक संस्कृति तथा धार्मिक स्थलको संरक्षण, समानुपातिक प्रतिनिधित्व, शिक्षा र रोजगारीका अवसर विस्तार गर्नुपर्ने उनको भनाइ थियो । आदिवासी जनजातिसम्बद्ध सङ्घसंस्थाबीच सहकार्य र एकता पनि आवश्यक रहेको उनले बताए ।
विसन राईले आदिवासी जनजाति युवालाई सूचना प्रविधि तथा डिजिटल सीपसम्बन्धी तालिम दिएर रोजगारीसँग जोड्नुपर्ने धारणा राखे ।
बजेट निर्माण प्रक्रियामा समुदायको सहभागिता, छात्रवृत्तिको अवसर र युवाको बौद्धिक तथा व्यावसायिक क्षमता विकासका लागि तालिम र कार्यशाला आवश्यक रहेको उनले बताए । परम्परागत बाजागाजा र भेषभूषा निर्माणसम्बन्धी सीप सिकाएर त्यसलाई रोजगारीसँग जोड्नुपर्ने, सहज ऋणको व्यवस्था गर्नुपर्ने तथा इटहरीलाई खुला सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्ने उनको सुझाव थियो ।
विभिन्न जातीय समुदायको पहिचान झल्कने प्रतिमा निर्माण, जातीय धार्मिक स्थल तथा थानहरूको संरक्षण र विकासमा पनि स्थानीय सरकारले ध्यान दिनुपर्ने उनले बताए । स्थानीय सरकारले आदिवासी जनजातिका थान अतिक्रमण गरिरहेको विषयमा समेत उनले चिन्ता व्यक्त गरे ।
राजकुमार बमजन तामाङले इटहरीमा लागुऔषधको समस्या बढ्दै गएको र त्यसको प्रभाव जनजाति समुदाय तथा जनबस्तीमा समेत देखिएको बताए । लागुऔषध नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा बनाउने र रात्रिकालीन गस्ती बढाउनुपर्ने उनको सुझाव थियो ।
इटहरीमै स्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउन सके अध्ययनका लागि बाहिरिने युवाको सङ्ख्या घटाउन सकिने उनले बताए ।
मोहन लोप्चन तामाङले इटहरीमा करिब साढे आठ हजार तामाङ समुदायको बसोबास रहे पनि मृत्युपछि शवको अन्त्येष्टि गर्ने वैधानिक स्थान नभएको समस्या उठाए । अहिले जङ्गलमा शव गाड्नुपर्ने अवस्था रहेको र त्यसका लागि पनि डराएर अन्यत्र लैजानुपर्ने बाध्यता रहेको उनले बताए ।
तामाङ समुदायका लागि धार्मिक वनको व्यवस्था गर्न माग गरिएको उनको भनाइ थियो । युवाहरू विदेश पलायन हुने क्रम रोक्न स्थानीय सरकारले पहल गर्नुपर्ने र लागुऔषध न्यूनीकरणका लागि सुरक्षा प्रणाली सुधार गर्नुपर्ने उनले बताए ।
प्रहरीलाई खबर गर्दा समयमै नआउने समस्या रहेको उल्लेख गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सके लागुऔषध प्रयोगसमेत घटाउन सकिने उनको धारणा थियो ।
इटहरीको अव्यवस्थित विकासप्रति ध्यानाकर्षण गराउँदै लोप्चनले फुटपाथ, पार्किङ र ढल निकासको उचित व्यवस्था नभएको बताए । टेंग्रा र खेती खोलाको नियन्त्रण गरी बाढी तथा डुबान न्यूनीकरण गर्नुपर्ने, नगरपालिकाका कर्मचारी तथा प्रशासनिक संरचनामा आदिवासी जनजातिको पहुँच बढाउनुपर्ने र नगरको आम्दानी तथा खर्च पारदर्शी बनाउनुपर्ने उनको माग थियो । स्थानीय तहको निर्वाचनमा सबै वडाबाट सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा पनि उनले राखे ।
अर्का सहभागी दीर्घ मगरले मोबाइलको बढ्दो प्रयोगले जनजाति समुदायको विकासमा अपेक्षित योगदान पुग्न नसकेको धारणा राख्दै रोजगारीका अवसर सिर्जना गरी युवाको विदेश पलायन रोक्नुपर्ने बताइन् ।
डिगबहादुर भुजेलले इटहरीलाई कस्तो बनाउने भन्ने कुरा राजनीतिक नेतृत्व र त्यसको इच्छाशक्तिमा निर्भर रहने बताए । नगरको भविष्यबारे परिकल्पना गर्न सकिए पनि त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी राजनीतिक नेतृत्वकै हुने उनको भनाइ थियो ।
राम्रो र निःस्वार्थ नेतृत्व भए विकासका लागि स्रोतको अभाव नहुने धारणा राख्दै उनले आदिवासी जनजाति समुदाय पनि राजनीतिमा सक्रिय रूपमा अघि आउनुपर्ने बताए । जनजातिहरूबीच एकताको कमी रहेको उल्लेख गर्दै उनले ठूलो सपना र दूरदृष्टिका साथ अघि बढ्नुपर्ने धारणा राखे ।
माया वान्तवा राईले आदिवासी जनजाति समुदायलाई बेवास्ता गरेर नगरको भविष्य निर्माण गर्न नसकिने बताइन् । विभिन्न क्षेत्रमा समुदायको प्रतिनिधित्व न्यून रहेको र आफ्ना अधिकार तथा विकासका लागि स्थानीय सरकारसँग पटकपटक आग्रह गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो । थारु समुदायलाई पहिलो नागरिक घोषणा गरिए पनि उनीहरूको विकास र बजेट विनियोजनमा अपेक्षित ध्यान नदिइएको उनले बताइन् ।
आदिवासी जनजातिका नाममा निर्माण गरिएका भवनहरू कतिपय अपुरा रहेको र बनेका संरचनासमेत जीर्ण हुँदै गएको उल्लेख गर्दै उनले बजेट विनियोजन गर्दा निर्माण सम्पन्न हुने गरी लगानी गर्नुपर्ने बताइन् ।
इटहरीमा रहेका १७ वटा जातीय संस्थालाई समेटेर साझा सङ्ग्रहालय निर्माण गर्नुपर्ने, विद्यालयका विद्यार्थीलाई सङ्ग्रहालय अवलोकन गराई स्थानीय संस्कार र संस्कृति चिनाउनुपर्ने उनको सुझाव थियो ।
त्यसका लागि सबैभन्दा पहिले आदिवासी जनजातिको तथ्याङ्क सङ्कलन गर्नुपर्ने र त्यसैका आधारमा योजना बनाउनुपर्ने उनले बताइन् । समुदायको इतिहास, कला, संस्कृति र संस्कारको अध्ययन तथा अभिलेखीकरण गरी पर्यटनसँग जोड्नुपर्ने उनको धारणा थियो ।
इटहरीमा पर्यटकलाई आकर्षित गर्न विभिन्न जातीय समुदायको बसोबास रहेका क्षेत्रमा उनीहरूको मौलिक संस्कृति देखाउने व्यवस्था गर्नुपर्ने बताउँदै राईले बाढी नियन्त्रणका लागि पनि स्पष्ट नीति निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
डेडराज गुरुङले इटहरीलाई विभिन्न क्षेत्रमा विशिष्ट बनाउन नसकिए पनि उत्कृष्ट सहरका रूपमा विकास गर्न सकिने बताए । उनले यातायात, व्यवसाय, संस्कृति, पर्यटन, खेलकुद र शिक्षालाई केन्द्रमा राखेर इटहरीको विकास गर्ने छ वटा क्षेत्रको परिकल्पना प्रस्तुत गरे ।
सांस्कृतिक महोत्सव आयोजना गर्ने, बहुसांस्कृतिक ग्राम निर्माण गर्ने र पर्यटनका विशिष्ट आकर्षण तयार गर्ने उनको सुझाव थियो । विभिन्न वडालाई फरकफरक विषयका केन्द्रका रूपमा विकास गर्न सकिने उनले बताए ।
धार्मिक स्थल निर्माण र सांस्कृतिक सम्पदाको संरक्षणका क्रममा आदिवासी जनजातिका मुद्दालाई जातीय मुद्दा भन्दै पन्छाउने नेतृत्व आए समस्या हुने गुरुङको धारणा थियो ।
आदिवासी जनजातिका प्रतिनिधि नेतृत्वमा पुगे पनि उनीहरूका मुद्दा सम्बोधन नभए त्यसको अर्थ नहुने भन्दै उनले विकासका योजना जनजीविकासँग जोडिनुपर्ने बताए । थारु समुदायलाई पहिलो नागरिक घोषणा गरिए पनि त्यसअनुसार विशेष कार्यक्रम नआएको उनको भनाइ थियो ।
आदिवासी जनजातिका सम्पदालाई आर्थिक गतिविधिसँग जोड्नुपर्ने बताउँदै उनले स्थानीय उत्पादन, कृषि तथा मौलिक सीपको प्रवद्र्धनले समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन सक्ने धारणा राखे ।
गुम्बामा छोर्तेन निर्माणका लागि आवश्यक सामग्रीको सूचीसमेत पालिकासँग नरहेको उल्लेख गर्दै उनले सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकारको तयारी कमजोर रहेको बताए ।
संस्कृति र सभ्यता मासेर गरिने निर्माणलाई विकास मान्न नसकिने भन्दै विकास जनताको जीवनसँग जोडिनुपर्नेमा उनले जोड दिए ।
धिमाल समुदायका प्रतिनिधि तुलसी धिमालले पूर्वका विभिन्न स्थान र खोलानालाको नाम धिमाल भाषाबाट राखिएको उल्लेख गर्दै इटहरी नामको अर्थसमेत धिमाल भाषामा जोडिने बताए । धिमाल भाषामा इटहरीको अर्थ समाएर बस भन्ने लाग्ने उनको भनाइ थियो ।
नगरपालिकाको आर्थिक, राजनीतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा धिमाल समुदायको पहुँच कम रहेको बताउँदै उनले समुदायलाई विकासको मूल प्रवाहमा समेट्न माग गरे ।
समुदायका लागि सञ्चालन गरिने तालिम प्रभावकारी र व्यवस्थित बनाउनुपर्ने पनि उनले बताए ।
टंक राजवंशीले इटहरीमा व्यवस्थित अस्पताल, गुणस्तरीय सडक र स्वच्छ वातावरण आवश्यक रहेको बताए । आदिवासी जनजातिको सङ्ख्या उल्लेख्य भए पनि विभिन्न क्षेत्रमा पहुँच कम रहेको भन्दै मातृभाषा बुझ्ने जनशक्ति सम्बन्धित स्थानमा हुनुपर्ने उनको सुझाव थियो ।
जातीय समुदायका परम्परागत सामग्री संरक्षण गर्न सङ्ग्रहालय निर्माण गर्नुपर्ने र स्थानीय जातीय पहिचान झल्कने गरी चोकहरूको नामकरण गर्नुपर्ने उनले बताए । इटहरीमा सुरक्षा व्यवस्था कमजोर रहेको र होटलहरूमा विकृति बढेको भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
राष्ट्र लोहरुङ राईले इटहरीको विकासमा आदिवासी जनजाति समुदायले निरन्तर योगदान गर्दै आएको बताए । पूर्वी नेपालको केन्द्रका रूपमा रहेको इटहरीले आफ्नो ऐतिहासिक तथा सांस्कृतिक महत्त्व जोगाउनुपर्ने उनको धारणा थियो ।
पुराना सम्पदाको संरक्षण गरी पर्यटक आकर्षित गर्ने वातावरण बनाउन तीनै तहका सरकारले भूमिका खेल्नुपर्ने उनले बताए । भाषा र लिपि पढाउने व्यवस्था गर्नुपर्ने, ग्रामथानको अतिक्रमण तथा हिन्दुकरण रोक्नुपर्ने र साकेला थानहरूको मौलिकता जोगाउनुपर्नेमा उनले जोड दिए ।
श्रीदेवी राईले रोजगारीको अभावमा युवाहरू गलत बाटोतर्फ जाने र विदेश पलायन हुने क्रम बढेको बताए । बालबालिकाको रुचि विद्यालय तहदेखि नै पहिचान गरी सोहीअनुसार क्षमता विकासमा ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
युवालाई विदेश जानबाट रोक्न स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र सरकारी शिक्षाको गुणस्तर कायम राख्न प्रभावकारी नियमन आवश्यक रहेको उनले बताए ।
कुमारी तामाङले सबै समुदाय एकताबद्ध भएर अघि बढे इटहरीको विकास सम्भव हुने बताइन् । इटहरी चोकमा निर्माण गरिएको स्तम्भ तोडफोड भएको उल्लेख गर्दै उनले त्यसलाई पुनः निर्माण गर्नुपर्ने धारणा राखिन् ।
यस्तै कार्यक्रममा आदिवासी जनजातिका विभिन्न समुदायमा मृत्युपछि शव गाड्ने परम्परा रहे पनि सहरीकरणका कारण परम्परागत अन्त्येष्टि स्थलको अभाव हुँदै गएको विषय पनि कार्यक्रममा उठेको थियो । पहिले कोशीमा शव बगाउने चलन रहेको उल्लेख गर्दै गुञ्जन माझीले अहिले इटहरीमै अन्त्येष्टिको उचित व्यवस्था चुनौतीपूर्ण बनेको बताए ।
जङ्गलमा शव गाड्न लैजाँदा लागुऔषध प्रयोगकर्ताले फालेका सुई तथा अन्य सामग्री भेटिने गरेकाले असुरक्षाको अवस्था रहेको उनको भनाइ थियो । धार्मिक वन तथा समाधिस्थलको व्यवस्था गर्न वनसँग समन्वय गर्नुपर्ने र ऐलानी जग्गाको उचित संरक्षण तथा व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिइएको थियो ।
बाढीबाट वर्षेनी हुने क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापनमा ध्यान दिनुपर्ने र बहुजातीय सङ्ग्रहालय निर्माण गर्दा सम्बन्धित समुदायसँग पर्याप्त समन्वय हुनुपर्ने विषयसमेत उनले उठाए ।
यसैगरी रोशन भुजेलले नेपालको बहुभाषिक तथा बहुधार्मिक पहिचान निर्माणमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान रहेको बताए ।
आगामी २५ वर्षपछि इटहरीमा मातृभाषाको पठनपाठन, व्यवस्थित सांस्कृतिक सङ्ग्रहालय र मौलिक नृत्य तथा कला प्रदर्शन हुने अवस्था बनेको परिकल्पना आफूले गरेको उनले बताए । त्यस्तो संस्कृति हेर्न देश तथा विदेशबाट पर्यटक आउने वातावरण बनाउनुपर्ने उनको धारणा थियो ।
नयाँ पुस्तामा भाषा, संस्कार र संस्कृतिप्रति रुचि घट्दै गएको उल्लेख गर्दै उनले मौलिक कला र संस्कृतिलाई आर्थिक उपार्जनसँग जोड्नुपर्ने बताए । भाषा तथा संस्कृतिको डिजिटल अभिलेखीकरण र जीवित सङ्ग्रहालय निर्माणमार्फत नयाँ पुस्तालाई आफ्नो पहिचानसँग जोड्न सकिने उनले बताए ।
आयोजक संस्थाका अध्यक्ष चिरहाङ राईले स्थानीय सरकारले आदिवासी जनजातिको विकासका लागि विकास समिति गठन गरी ऐन निर्माण गरेको र वार्षिक १० देखि १२ करोड रुपैयाँ बजेट छुट्याउँदै आएको जानकारी दिए ।
भवन निर्माण, भाषा शिक्षण र तालिम सञ्चालनमा सहयोग भइरहेको भए पनि यस्ता कार्यक्रमका लागि दयामायाका रूपमा नभई अधिकारका रूपमा बजेट सुनिश्चित हुनुपर्ने उनको धारणा थियो । ऐन प्रमाणीकरण हुन बाँकी रहेको र मस्यौदामा केही कमजोरी देखिएकाले त्यसलाई सच्याउने तयारी भइरहेको उनले बताए ।
आदिवासी जनजातिका लागि दाहसंस्कार तथा अन्त्येष्टिको उचित व्यवस्थापन, शिक्षा विकास र नगरको समग्र विकासमा समुदायको सहभागिता आवश्यक रहेको राईले बताए । विकासमा आदिवासी जनजाति समुदाय बाधक नभई सहयोगी बन्न तयार रहेको उल्लेख गर्दै उनले समुदायका आवश्यकता सम्बोधन गर्न पनि स्थानीय सरकार र राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताए ।
जनसङ्ख्याका आधारमा समुदायको उपस्थिति उल्लेख्य भए पनि प्रतिनिधित्व र पहुँच कमजोर रहेको भन्दै उनले अब आफ्नो समुदायको हित बुझ्ने र दीर्घकालीन दृष्टिकोण भएको नेतृत्व छनोटमा ध्यान दिनुपर्ने बताए । नेतृत्वमा पुगेपछि जातीय विभेद नगरी सबै समुदायका लागि समान रूपमा काम गर्नुपर्ने उनको धारणा थियो ।
आदिवासी जनजातिको पहिचान र संस्कृति समाजको साझा गहना भएको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्नुपर्ने बताए । अहिले बालबालिकामा आफ्नो संस्कृतिप्रति रुचि बढ्दै गएको उल्लेख गर्दै त्यसलाई निरन्तर प्रोत्साहन गर्नुपर्ने उनले बताए ।
















Discussion about this post