उदयपुर : उदयपुरमा प्रहरीले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म २६ हजार ७७० बोट गाँजा नष्ट गरेको छ ।
जिल्लाका विभिन्न स्थानीय तहका दुर्गम तथा कम मानिसको आवतजावत हुने स्थानमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका, कटारी, ताप्ली र लिम्चुङबुङका विभिन्न वडामा स्थानीयले लुकिछिपी लगाएको गाँजा खेती नष्ट गरिएको हो ।
पछिल्लो पटक मंसिर ७ गते कटारी नगरपालिका–८ स्थित मर्जेपुर, आहाले, बलोटे, टाँटरी, उरेनी र बलुवा गाउँमा लगाइएको १० हजार ६०० बोट गाँजा इलाका प्रहरी कार्यालय कटारीको टोलीले नष्ट गरेको थियो । त्यसैगरी टाँटरीबाट थप १ हजार ५०० बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
मंसिर ५ गते बेलका नगरपालिका–७ को पावल र तिलतलेबाट ६ हजार ३०० बोट गाँजा नष्ट गरिएको थियो । त्यस्तै कात्तिक १९ गते लिम्चुङबुङ गाउँपालिका–२ को जिमी गाउँ, मटुवा, छतिवने, बराहा र माझगाउँलगायत स्थानबाट १ हजार ९५५ बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले बताए ।
यसैगरी ताप्ली गाउँपालिकाका विभिन्न स्थानबाट ७५० बोट, कटारी नगरपालिका–९ कालिखोलाबाट २० बोट, बेलका नगरपालिका–७ का विभिन्न गाउँबाट ३ हजार १५० बोट तथा कटारी नगरपालिका–८ भण्टाबारी, आहाले र मरुवाखानीबाट २ हजार ५०० बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्गम, पहाडी तथा एकान्त स्थानमा स्थानीयले अतिरिक्त आम्दानीका लागि लुकिछिपी गाँजा खेती गर्ने गरेको पाइएको छ । गाँजा खेती गैरकानुनी भएको जानकारी हुँदाहुँदै पनि उच्च मूल्यमा बिक्री हुने भएकाले यस्तो खेती हुने गरेको प्रहरीको भनाइ छ ।
सूचना अधिकारी बमका अनुसार गाँजा खेती नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको छ । कानुनले प्रतिबन्धित लागूऔषधको उत्पादन, बिक्री वितरण, ओसारपसार तथा बजारीकरण नियन्त्रण गर्न प्रहरी परिचालन भइरहेको उनले बताए ।
उनले गाँजा खेतीको विकल्पमा स्थानीय सरकारले किसानलाई तरकारी खेती, फलफूल खेती तथा पशुपालनजस्ता आयआर्जनका गतिविधिमा प्रोत्साहन गर्नुपर्ने बताए ।
अवैध खेती नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभएकाले स्थानीय सरकार र समाजका सचेत वर्गले समेत सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
















Discussion about this post