विराटनगर : नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको छ ।
सीमा क्षेत्रमा बढ्दै गएको अव्यवस्थित पार्किङ, सरसफाइको समस्या, शौचालय व्यवस्थापन तथा चोरीतस्करी नियन्त्रणका विषयलाई केन्द्रमा राखेर टोलीले अनुगमन गरेको हो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा, मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारी र राष्ट्रिय अनुसन्धान विभाग मोरङका प्रमुख राजन सापकोटासहितको टोलीले सीमा नाकाको अवस्थाबारे स्थलगत जानकारी लिएको थियो ।
अनुगमनका क्रममा सीमा क्षेत्रको फोहोर व्यवस्थापन, सार्वजनिक शौचालयको अवस्था, सवारीसाधनको पार्किङ, आवागमनमा देखिएका समस्या तथा सुरक्षा व्यवस्थाबारे छलफल भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
महानगरपालिका र जिल्ला प्रशासनसहितका सुरक्षा निकायबीच समन्वय गरेर सीमा क्षेत्रका समस्या समाधान गर्ने विषयमा समेत छलफल भएको उनले बताए ।
विशेषगरी नेपालतर्फको ढाट र त्यस आसपास क्षेत्रमा देखिएको अव्यवस्थित पार्किङलाई तत्काल व्यवस्थित गर्नुपर्ने विषयमा टोलीले चासो देखाएको छ ।
सवारीसाधन जथाभावी पार्किङ हुँदा नेपाल र भारतबीच आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन महानगर प्रमुख कोइरालाले निर्देशन दिएका छन् ।
महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सीमा क्षेत्रमा सवारी आवागमन सहज बनाउन पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
सडक तथा नाकाको आसपासमा जथाभावी सवारी रोक्ने प्रवृत्तिले पैदलयात्रु र सवारीसाधन दुवैलाई समस्या पार्दै आएको छ । त्यसैले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र सम्बन्धित निकायबीच नियमित समन्वय गर्ने विषयमा समेत छलफल भएको छ ।
अनुगमन टोलीले भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई सम्भावित समस्या र जोखिमबाट जोगाउन राखिएको सचेतनामूलक सूचना पाटीको समेत अवलोकन गरेको थियो । महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङको पहलमा सीमा क्षेत्रमा राखिएको उक्त सूचना पाटीमा नेपाली, अंग्रेजी र हिन्दी भाषामा यात्रुले ध्यान दिनुपर्ने विषय समेटिएका छन् ।
भारत प्रवेश गर्दा आवश्यक सावधानी, यात्राका क्रममा अपनाउनुपर्ने सुरक्षा उपाय तथा सम्भावित ठगी र अन्य समस्याबाट बच्ने उपायबारे जानकारी दिने उद्देश्यले सूचना पाटी राखिएको हो ।
सूचना पाटीमा राखिएको सङ्केत चिह्न स्क्यान गरेर यात्रुले मोबाइलबाटै विस्तृत जानकारी लिन सक्ने व्यवस्था पनि मिलाइएको छ ।
सीमा नाकामा हुने आवागमनलाई सहज बनाउनुका साथै यात्रुको सुरक्षा र सुविधालाई प्राथमिकता दिन यस्ता सचेतनामूलक अभियान प्रभावकारी हुने मेयर कोइरालाको दाबी छ ।
नेपाल–भारतबीच दैनिक ठूलो संख्यामा मानिसको आवतजावत हुने रानी नाकामा व्यवस्थित पार्किङ, सफा वातावरण, पर्याप्त सार्वजनिक शौचालय र प्रभावकारी सुरक्षा व्यवस्थापन लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएका छन् ।
















Discussion about this post