नेपाल पत्रकार संघ सुनसरीका संस्थापक सभापति, धरानका अग्रज पत्रकार गिरिराज आचार्यको नाममा गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।
२०३४ सालमा तत्कालिन नेपाल पत्रकार संघ सुनसरीको संस्थापक सभापति रहेका आचार्यले नेपाली पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनको नाममा पुरस्कारको घोषणा गरिएको हो ।
पञ्चायतकालमा राजनीतिमा पनि सक्रिय रहेका आचार्यलाई समाचार लेखेवापत पञ्चायती सरकारले पटक–पटक पक्राउ समेत गरेको थियो ।
राजनीति, साहित्य र पत्रकारितामा उल्लेख्य योगदान पुर्याएका ७० बर्षीय आचार्यको नाममा बुधबार नेपाली कांग्रेस धरान र प्रेस युनियन धरानले पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा गरेको हो ।
धरानका मेयर तिलक राईले आफ्नो तलब, भत्ता लगायन सेवा सुविधा नलिने घोषणा अनुसार प्राप्त हुने रकमबाट डेढ लाख रुपैँयाको पुरस्कार कोष स्थापना गरिदिएका हुन् ।
बुधबार एक कार्यक्रमबीच प्रमुख अतिथि एवं प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले डेढ लाख रुपैँयाको कोष युनियनका धरान संयोजक मात्रिका प्रसाद नेपाल, कोषाध्यक्ष वसन्त राई र युनियनका जिल्ला सभापति पवन अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
आगामी बर्षदेखि निष्पक्ष मूल्यांकन गरेर प्रत्येक बर्ष एक जना सञ्चारकर्मीलाई १५ हजार रुपैँया सहित ताम्रपत्र प्रदान गरिनेछ ।












Discussion about this post