इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले ४ जनाकाे गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
संगठित रुपमा अलैँची ठगीमा संलग्न चारजनालाई पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनिक गरेको हो ।
खोटाङमा उत्पादन भएको अलैँची जम्मा गरी बिक्री गर्न इटहरी ल्याउने भन्दै ठगी गर्ने चारजना गिरोहलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीले बताए । उनका अनुसार पक्राउ पर्नेमा खोटाङ जन्तेढुंगा घर भई हाल झापाको बिर्तामोड नगरपालिका ४ बस्ने मात्रिका प्रसाद पोखरेल रहेका छन् ।
उनको साथबाट नबिल बैँक इटहरी शाखामा फर्जी कागज पेश गरी नक्कली दीपक कुमार घिमिरे नाम राखेर खाता खोल्न प्रयोग भएको फोटो, पत्रकार परिचयपत्र र राष्ट्रबादी केन्द्र नेपालको परिचयपत्र बरामद गरिएको डीएसपी केसीले बताए ।
त्यस्तै, दोलखा बिगु ८ बस्ने केशव दाहाल पक्राउ परेका छन् । उनको साथबाट पीडितहरुको फोन नं। सँगै अलैँचीलाई गोदामसम्म ल्याउन अलैँची काँटा गर्ने, संघीय समाजवादी फोरमको सदस्यता परिचयपत्र र पत्रकार परिचयपत्र बरामद गरिएको छ ।
त्यस्तै, सुनसरीको इटहरी ७ बस्ने सरोज बोहरा पक्राउ परेका छन् । गोदामबाट अलैँची ट्रकमा लोड गरी हलगडामा रहेको गोदाममा बिक्री गरी मुख्य योजनाकारलाई पैसा दिएको बोहरामाथि आरोप लागेको छ । त्यस्तै, भोजपुर रामप्रसादराई गाउँपालिका वडा नं. ६ का कमल थापा पक्राउ परेका छन् । उनले गोदाम खोज्ने, अलैँची काँटा गर्ने र टिपोट राख्ने काम गर्दै आएको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका चारैजनामाथि चोरी, ठगी, अपराधिक तथा विश्वासघात मुद्दामा म्याद थप भइरहेको छ,’ डीएसपी केसीले भने, ‘पीडित मध्येका युवराज राईले एक सय पचास मन अलैँची मगाएर ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।’
पीडितहरुको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अलैँची बुझिसकेपछि गिरोहले फोन सम्पर्क समेत स्वीच अफ गरेको र सम्पर्कमा नआएकाले पीडितले प्रहरीमा उजुरीमा दिएका थिए । सोही उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।
उनीहरुलाई प्रदेश १ प्रहरीको अनुसन्धान समूह र इटहरी प्रहरीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।














Discussion about this post