इटहरी (डेस्क) : दैलेखको आठविस नगरपालिका–३ बाट कर्णाली नदीमा हाम फालेका ५ जनामध्ये ४ जनाको शव फेला परेको छ ।
चार छोराछोरीसहित नदीमा हाम फालेकी ३५ वर्षीया सुकी बहुवाल र उनको १० वर्षीय छोरा ललिल बडुवालको पनि शव भेटिएको हो ।
सोमबार बिहानदेखि हराइरहेका उनीहरूको शव कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृतक सुकीका दुई छोरी १६ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव सोमबार बेलुका डोरीले हात बाँधिएको अवस्थामा फेला परेको थियो ।
स्थानीयका अनुसार आइतबार राति मदिरा सेवन गरेका श्रीमान मानसिंह बडुवालसँग झगडा परेपछि श्रीमती सुकी सोमबार बिहानै चार छोराछोरीलाई साथमा लिएर घरबाट निस्किएकी थिइन् ।
उनले आफ्ना सन्तानसहित कर्णाली नदीमा हाम फालेको आशंका गरिएको थियो । उनकी कान्छी छोरी ५ वर्षीया रजनी बडुवाल अझै बेपत्ता छिन् ।
श्रीमतीले छोराछोरीसहित नदीमा हाम फालेपछि श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post