इटहरी : वैदेशिक रोजगारीमा पठाउने भन्दै ३७ जना युवाबाट एक करोड पाँच लाख रुपैयाँ उठाएर दुईजना व्यक्ति फरार भएका छन् ।
सुनसरीको इटहरीमा सञ्चालित रोयल पाण्डा कन्सल्टेन्सीका सञ्चालक रकम लिएर फरार भएपछि युवाहरुको बिचल्ली भएको हो ।
ठगीमा परेका युवाहरु अहिले न्यायका लागि जिल्ला प्रशासन कार्यालय र श्रम तथा रोजगार कार्यालयमा धाउन थालेका हुन् ।
इटहरी उपमहानगरपालिकामा शैक्षिक परामर्श सम्बन्धि कार्य गर्न दर्ता गरेर कन्सल्टेन्सीका सञ्चालक दीपकप्रसाद ढुंगेल र विशाल आचार्यले युवाहरुलाई रोजगारीका लागि पठाउने भन्दै रकम उठाएका हुन् ।
युवाहरुबाट २ लाख ५० हजारदेखि २ लाख ७० हजार रुपैयाँसम्म उठाएपछि कार्यालय नै बन्द गरेर उनीहरु फरार भएका छन् ।
मोरङको बेलबारी–४ का टंकप्रसाद दाहालले ऋण गरेर कन्सल्टेन्सीमा बुझाएको रकम लिएर सञ्चालक फरार हुँदा चिन्ताले सताएको बताए ।
सञ्चालकहरु कार्यालय नै छोडेर भागेको पाइएपछि उनीहरुले जिल्ला प्रशासन कार्यालय सुनसरी र श्रम तथा रोजगार कार्यालय विराटनगरमा खोजी गरि कारवाहीको दायारमा ल्याईदिन माग गर्दै उजुरी दिएका छन् ।
इटहरी उपमहानगरपालिकामा भर्खरै दर्ता गरिएको कन्सल्टेन्सीले यूईए मात्रै नभई युरोपियन मुलुकमा पठाउने भन्दै पनि रकम उठाएको युवाहरुले बताएका छन् । इटहरी उपमहानगरमा २२२०५०/२०७६/२०७७ मा दर्ता भई पान नम्बर ६१२४८९१७ समेत लिएको कन्सल्टेन्सीले ठगी गर्नकै लागि मात्रै संस्था दर्ता गरेको हुनसक्ने आशंका गरिएको छ ।
श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेम प्रसाद सन्जेलका अनुसार सञ्चालकहरु विरुद्धको कारवाही प्रक्रियाका लागि सम्बन्धित निकायलाई लेखि पठाईने छ ।
सञ्चालकहरुलाई नियन्त्रणमा लिएर ठगेको रकम फिर्ता गराउने, दुईलाख देखि ५ लाख सम्म नगद जरिवाना भराउने र ३ वर्षदेखि ७ वर्षसम्म जेल सजाय गराउन सक्ने ऐनले स्पष्ट प्रावधान तोकेको छ ।
ठगीमा परेकामध्ये इटहरी–१८ का लक्ष्मण कुमार चौधरी समेत ३७ जनाले नै जिल्ला प्रशासन कार्यालय सुनसरीमा समेत उजुरी दिएका छन् ।
Discussion about this post