इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिका ५ दुलारीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।
गएराती करिब १० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १८ प १८०२ नम्बरको मोटरसाइकलले साइकलयात्री सुन्दरहरैँचा ६ का ५६ वर्षीय इन्द्र बहादुर श्रेष्ठलाई ठक्कर दिएका थिए । ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा राती १० बजेर ५५ मिनेटमा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकल चालक इटहरी ५ का २६ वर्षीय सेवन्तमणि कोइराला गम्भीर घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकल र साइकललाई प्रहरी चौकी गछियाले नियन्त्रणमा राखेको प्रहरीले जनाएको छ ।
Discussion about this post