इटहरी : नेपाल प्रेस युनियन सुनसरीले कोरोना संक्रमित दुई सञ्चारकर्मीलाई कोरोना वापतको रकम हस्तान्तरण गरेको छ ।
प्रेस युनियन सुनसरीले मंगलबार र बुधबार गरी यहाँका दुई कोरोना संक्रमित सञ्चारकर्मीलाई एक लाखका दरले बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।
मंगलबार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राईले क्लिक धरानकी सञ्चालिका सबिता राईलाई एक लाख रुपैँया हस्तान्तरण गरेका थिए ।
उनलाई धरान १८ मा गएर चेक हस्तान्तरण गरिएको थियो ।

त्यस्तै, बुधबार प्रेस संगठन सुनसरीका संयोजक अर्जुन शर्मालाई एक लाख रुपैँया हस्तान्तरण गरिएको थियो । उनलाई पत्रकार महासंघ सुनसरीका सचिव धुब्र ढकालले घरमै गएर रकम हस्तान्तरण गरेका थिए ।
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियनले एक वर्ष अघि सुनसरीका दुई सय ६० सञ्चारकर्मीहरुको निःशुल्क कोरोना बीमा गरेको थियो ।
ती मध्धे ३३ जना सञ्चारकर्मीलाई कोरोना लागेको थियो । ३३ जनामध्ये ३० जनालाई एक लाखका दरले रकम हस्तान्तरण गरिसकिएको अधिकारीले बताए ।
बाँकी रहेका तीनजनालाई भने वैशाख महिनाभर रकम उपलब्ध गराउने तयारी गरिएको अधिकारीले बताए ।














Discussion about this post