इटहरी : इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० बेडको आइसोलेसन सेन्टर संचालनमा आएको छ । इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुट्टा छुट्टै ब्लकमा ब्यवस्था सहित आइसोलेसन संचालनमा ल्याएको जानकारी दिए । आज साँझदेखि कोभिड संक्रमित बिरामी राखेर आइसोलेसन संचालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।
अक्सिजन नेबुलाइजरसहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्ने उनले बताइन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड बमोजिमको गुणस्तरीय खानाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले बताए ।
इटहरी अस्पतालका डा. योगेश चेम्जोङले आइसोलेसन ब्यवस्थित रहेको बताउँदै कोभिडका बिरामीलाई राखेर अक्सिजन नेबुलाइजरको सेवा समेत प्राप्त हुने बताए । बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मीसहित ‘स्टेण्ड’ रहने र एम्बुलेन्समार्फत अन्य अस्पताल रिफर गरिने उनले बताए ।
यसअघि इटहरी ९ रंगशालामा गतवर्ष पनि आइसोलेसन संचालनमा आएको थियो । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिनेछ ।













Discussion about this post