इटहरी : इटहरीमा बुधबार उपमहानगरपालिकाले शिल गरेको औषधी पसलको ताला खोलेको छ । बिहीबार दिउँसो शिल गरिएको पसलको ताला खोलिएको हो ।
इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देल, राजस्व शाखा प्रमुख नवीन भट्टराई, उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, नेपाल औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष रवीन्द्र घिमिरे लगायत उपभोक्ता मञ्च सुनसरीसहितको बसेको बैठकबाट ताला खोल्ने निर्णय भएसँगै शिल गरिएका पसलको तालाबन्दी खोलिएको हो ।
औषधीको ‘लेबलिङ मिस्टेक’ भएका कारण उपमहानगरका कर शाखाका कर्मचारी नगरप्रहरी, इटहरी प्रहरीसहितको टोलीले बुधबार सामुदायिक अस्पताल इटहरी, कलश फार्मेशी, एरभ मेडिकोस् एण्ड सप्लायर्समा शिल गरिएको थियो । तर, बिहीबार औषधी व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि उपमहानगर परिसरमा बैठक बसेर तालाबन्दी खोल्ने निर्णय भएको हो ।
उपमहानगरले आफूहरु औषधी विज्ञ नरहेको स्वीकार गर्दै तालाबन्दी खोल्ने निर्णय गरेको हो ।
‘उपमहानगरपालिकाले हामी विज्ञ होइनौँ, तर अनुगमन गर्ने क्रममा त्रुटी भयो भनेर स्वीकार गरेपछि तालाबन्दी खोलिएको हो,’ इटहरीका एक औषधी व्यवसायीले भने, ‘पुरानो औषधीको खोलमा नयाँ औषधीको स्टिकर टाँसेर कम्पनीबाटै आएको औषधी चलाउँदै आएका हौँ, औषधीको बाहिर खोलमा एउटा मिति भएपनि भित्रको डब्बामा अर्कै मिति थियो ।’
यो पनि – इटहरीकी उपमेयरले दादागिरी शैलीमा पसल बन्द गराएको आरोप, सबै औषधी पसल अनिश्चितकालका लागि बन्द
उनका अनुसार औषधीको खोलमा एक किसिमको मिति भएको र भित्रको डब्बामा भने अर्कै रहेको थियो । कम्पनीबाटै त्यो किसिमको आउँदा औषधी पसल हचुवाको भरमा बन्द गर्नु हदैसम्मको लापरबाही रहेको व्यवसायीहरुले बताएका छन् ।
यसअघि आक्रोशित व्यवसायीहरुले उपमेयर लक्ष्मी गौतमको ठाडो आदेशमा कर शाखाका कर्मचारीबाट औषधी पसल शिल गरिएको भन्दै आन्दोलन गरेका थिए । उनीहरुले उपमहानगरपालिकाले दादागिरी शैलीमा पसल बन्द गराएकाले यहाँ रहेका सबै औषधी पसल अनिश्तितकालका लागि बन्द गर्ने निर्णय समेत गरेका थिए ।
औषधी व्यवसायीहरुले अवैधानिक तवरले बिक्री गरेको भए औषधी व्यवस्था विभागका कर्मचारीसहित अनुगमन गरिनुपर्ने र दोषी प्रमाणित भए आफूहरु जस्तोसुकै कारबाही भोग्न समेत तयार रहेको बताउँदै आएका छन् ।
औषधी विज्ञ बिना नै कर शाखाका कर्मचारीबाट स्वास्थ्य अनुगमन भएको र जथाभावी रुपमा पसल बन्द गरिएको भन्दै बिहीबार व्यवसायीहरु आन्दोलित बनेका थिए ।
भिडियो हेर्नुहोस् _
यो पनि – औषधीको नाम केरमेट गरेर बिक्री गरिएपछि इटहरीका तीनवटा पसल शिल, औषधी व्यवसायीको आपत्ति
Discussion about this post