तरहरा : जब विपत्ति आइपर्छ, तब तरहराबासीहरु जागरुक बन्ने गरेका उदाहरण थुप्रै छन् । पछिल्लो समय पुनः यस्तो उदाहरण दोहोरिएको छ । कोभिडका कारण मुलुकमा लकडाउन जारी छ ।
तर, प्रशासनले राहत, खाद्यान्न वितरणमा रोक लगाएपनि तरहराबासीले गरीब, विपन्न परिवारको घरमै पुगेर खाद्यान्न वितरण गरेको छ ।
हाल अमेरिकामा रहेका तरहरा बासिन्दाले सहयोगस्वरुप पठाएको संकलित रकमले इटहरीका विभिन्न ठाउँका विपन्न परिवारलाई खाद्यान्नअन्र्तगत शनिबार चामल वितरण गरिएको छ ।
तरहरा घर भएर हाल अमेरिकामा कामको सिलसिलामा रहेका आशिष दाहालको नेतृत्वमा संकलित दुई लाख पचास हजार रुपैँया प्राप्त भएको थियो । सोही रकममार्फत इटहरी १७ को मुसहर बस्ती, मझौरा टोल, तरहराका विभिन्न टोलका दुई सय पचास घर परिवारलाई चामल वितरण गरिएको इटहरी २० का वडाध्यक्ष समेत रहेका मणिराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार साबिकको हाँसपोसा गाविस क्षेत्रमा रहेका विभिन्न टोलका विपन्न परिवारलाई खाद्यान्नअन्र्तगत चामल वितरण गरिएको हो ।
‘तत्काल हामीले दुई सय पचास घरपरिवारलाई चामल वितरण गरेका छौँ,’ श्रेष्ठले भने, ‘आवश्यक परेको अवस्थामा अन्य ठाउँमा पनि वितरण गरिनेछ, साबिकको हाँसपोसामा बसोबास गर्ने मानिसहरुले पठाएको रकमबाट निस्वार्थ रुपमा यो काम गरिएको हो ।’
उनका अनुसार जम्मा पाँच हजार केजी चामल खरीद गरी वितरण गरिएको हो ।
















Discussion about this post