धरान : धरानमा स्मार्ट बसपार्क बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आज (बुधबार) उपमहानगरपालिका र निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको धरान उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।
धरान ८ स्थित तीनकुने सुन्दरबस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको छ । ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडि बढाउने इञ्जिनियर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बसपार्क करसहित गरेर २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उनले भने, “तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ । ५० प्रतिशत नेपाल सरकारको अनुदान (३ वर्षभित्रमा प्राप्त हुन्छ) भने बाँकी ५० प्रतिशत स्रोत धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।”
मेयर तिलक राईले उपमहानगरपालिकाले लामो समयदेखि पूरा गर्न नसकिरहेको योजनालाई सम्झौता गरेर अगाडि बढाउन लागिएको बताए । उनका अनुसार धरानको विकास र समृद्धिको लागि विगत लामो समयदेखि बसपार्क निर्माण योजना थियो ।
मेयर राईले बसपार्क निर्माणको योजना समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न सुझाव दिदैँ ठेकेदार कम्पनीसँग आग्रह गरे । साथै, सुरुदेखि अहिलेसम्म यस योजनामा अहोरात्र रुपमा खटेका उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई मेयर राईले धन्यवाद समेत व्यक्त गरेका थिए ।














Discussion about this post