धरान : धरानमा कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएको भन्दै यसलाई रोकथाम तथा नियन्त्रण गर्न केही दिनसम्म भीडभाड हुने स्थान र कोरोना संक्रमणबाट बढी प्रभावित हुने क्षेत्रमा कन्ट्रयाक्ट ट्रेसिङ गरिने भएको छ ।
बिहीबार उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा सरोकारवालासँग बसेको बैठकले पछिल्लो समय धरानमा कोरोना संक्रमणदर दैनिक रुपमा वृद्धि हुँदै गएको कारण कन्ट्रयाक्ट ट्रेसिङ गरिने निर्णय गरेको हो ।
बैठकले शुक्रबार दिउँसो २ बजे धरान उपमहानगर परिषरमा भेला भएर संयुक्त रुपमा धरानका भीडभाड हुने स्थान बजार तथा मुख्य चौकहरुमा अनुगमन गर्ने पनि निर्णय गरेको छ । साथै, आजदेखि नै माइकिङ गर्न पनि थालेको छ, भने स्वास्थ्य सामाग्री अनिवार्य लगाउन पनि सचेतना गरिएको छ ।
यस्तै, भानुचौक लगायत धरानको मूख्य चौकहरुमा निजी सवारी साधनहरुलाई पार्किङ गर्न नदिने निर्णय भएको मेयर तिलक राईले बताए । निषेधाज्ञा खुकुलो भएसँगै धरानमा पछिल्लो केहीदिनयता कोरोना संक्रमणदर भयाभय भएको उनले बताए ।
बैठकमा उपमेयर मञ्जु भण्डारी, कार्यकारी अधिकृत विदुरप्रसाद खनाल, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी, सुनसरी उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, महाशाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।












Discussion about this post