इटहरी : इटहरीका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । बुधबार नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
मेयर चौधरीले अस्वभाविक रुपमा सेवाग्राहीलाई थुनेपछि कांग्रेस इटहरी आन्दोलित भएको हो । नगर सभापति हेमकर्ण पौडेलले कार्यालयमै सेवाग्राहीलाई थुन्नु अनैतिक, अमर्यादित र अव्यवहारिक भएको बताए ।
‘निर्वाचित नगरप्रमुखबाट कानूनलाई हातमा लिएर जून अश्लिलता प्रकट भएको छ, यो खेदजनक छ,’ पौडेलले भने, ‘मेयरले अब कानूनी सजाय भोग्न तयार रहनुपर्छ ।’ मेयर चौधरीले केहीदिनयता विभिन्न ठाउँमा बनाएका संरचना ऐलानी जग्गामा बनाएको भन्दै डोजर आतंक गर्नु अत्यन्त खेदजनक रहेको उनले बताए ।
‘मानिसलाई कार्यालयमै बोलाएर थुन्नु भनेको अत्यन्तै अमर्यादित, अमानवीयको पराकाष्टा हो,’ उनले भने, ‘बिहीबार हामी मेयरलाई कार्यकक्षमा प्रवेश निषेध गर्नेगरी तयारी गरेका छौँ ।’
मेयर चौधरीले बुधबार इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यकक्षमै बोलाएर थुनेका थिए । अहिले ५ बजे इलाका प्रहरी कार्यालय इटहरीले उनको उद्वार गरि परिवारको जिम्मा लगाएको छ ।
घर नक्सा पास नभएको र ऎलानी जग्गा मिचेर घर बनाएको भन्दै बुधबार नगर प्रहरी पठाएर उपमहानगरमा ल्याइ उनलाई मेयर चौधरीले थुनेका हुन् ।














Discussion about this post